गोली हानी हत्या गरिएका थपलियाको १३ औं स्मृति दिवस हेटौँडामा मनाइयो

तु खबर संवाददाता
२०७५ असार ६, बुधबार ०७:०१

हेटौँडा, ०६ असार । जनयुद्धकालमा अज्ञात समूहद्धारा गोली हानी हत्या गरिएका तत्कालीन चुरियामाई गाउँ विकास समितिका उपाध्यक्ष मीनबहादुर थपलियाको १३ औं स्मृति दिवस मंगलबार हेटौँडामा मनाइएको छ ।

मीनबहादुर थपलिया स्मृति प्रतिष्ठानको आयोजनामा स्मृति सभा एवम् विद्यालय पोषाक वितरण कार्यक्रम गर्दै स्मृति दिवस मनाइएको हो । प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्ण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद दाहालले मीन बहादुर थपलियाले देखाएको समाजसेवाको बाटोमा सबै अग्रसर हुनुपर्ने र आफू पनि त्यसमै लागिरहेको बताए ।

हेटौंडा–१४ नम्बर वडालाई समृद्ध वडा बनाउन आफूहरु लागिपरेको उनले बताए । समस्या पहिचान गरेर आफूलाई सम्पर्क राख्न समेत उनले वडाबासीलाई आग्रह गरे । कार्यक्रममा १४ नम्बर वडाका ४ वटा विद्यालयका २५ जना विद्यार्थीलाई स्टेशनरी र विद्यालय पोषाक वितरण गरिएको थियो । मीनबहादुर थपलियाका छोरा कृष्ण थपलियाले स्टेशनरी सामाग्री उपलब्ध गराएका थिए भने स्थानीय समाजसेवी रामचन्द्र ढुङ्गानाले पोषाकको लागि नगद १० हजार सहयोग गरेका थिए । पोषाकको लागि बाँकी रकम प्रतिष्ठानको अक्षयकोष क्षय नहुने गरी प्रतिष्ठानले बेहोरेको प्रतिष्ठानका सचिव विशाल अधिकारी आशुतोषले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समकक्षी राजनीतिक व्यक्तित्वको हत्याले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । समाजको लागि लड््दा लड्दै थपलियाले ज्यान गुमाउनुपरेकोमा आफू दुखित बनेको खुलालले बताए । प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतमले थपलियाको व्यक्तित्व र राजनीतिक पृष्ठभूमिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य रत्नलाल विक, हेटौंडा–१४ का कार्यबाहक अध्यक्ष चमेली सिञ्जाली मगरको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामा, नेपाल रेडक्रस सोसाइटी हेटौंडा–१४ उपशाखा सभापति मोहनसिं मोक्तान, समाज कल्याण युवा क्लवका अध्यक्ष सिद्धान्त सापकोटालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*