‘वीराङ्गना’ को ट्रेलर रिलिज, शिल्पाको वर्चश्व
मकवानपुर, ०४ असार । चर्चाको केन्द्रबिन्दुमा रहेको एक्शन प्रधान प्रतिक्षित नेपाली चलचित्र वीराङ्गनाको ट्रेलर सार्वजनिक गरिएको छ । यहि असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको यस अघि पोष्टर र दुई गीत सार्वजनिक भइसकेको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा मूख्य कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाईका साथै घोडा र बाँदर सम्म फिचरिङ गरिएको छ । चलचित्रको ट्रेलरमै प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतलाई पनि देख्न सकिन्छ । चलचित्रमा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको पनि अभिनय रहेको छ ।
महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म वीराङ्गना लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको चलचित्र हो । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । वीराङ्गनामा सुमी चामलिङ राई सह निर्माता रहेकी छिन् ।
चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । चलचित्रलाई काठमाडौंमा बि के फिल्मसका गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।
