विश्वकपमा उलटपुलट, उपाधीका दाबेदार ब्राजिल बराबरीमा रोकियो, जर्मनी पहिलो खेलमै पराजित
एजेन्सी, ०४ असार । विश्वकप फुटबल २०१८ सुरुवातमै निकै नै चर्चामा पुगेको छ । विश्वकप पूर्व विजेता तथा उपाधीका दाबेदार टिमलाई नै नयाँ टिम र कमजोरी आँकलन गरिएका टिमहरुसँग बराबरीमा रोकिने र हार्ने गरेका कारण अहिले यसको चर्चा चुलिएको हो । विश्वकपमा उलटपुलट भएसँगै नेपाली फ्यानहरु समेत तितरबितर भएका छन् ।
उपाधीको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराति रसियाको रोस्तोभ एरिनामा भएको खेलमा स्वीजरल्याण्डले ब्राजिललाई एक–एक गोलको बराबरी रोकेको हो । पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औँ मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले ५० औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

खेलमा ब्राजिलले तीन अंक जित्ने प्रयास गरे पनि उसको लक्ष्यमा स्वीट्जरल्याण्डका गोलकिपर र डिफेन्डर बाधक बने । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप खेलिरहेको छ ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमै पराजित भएको छ । विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको हो ।

समूह एफ अन्तरगतको पहिलो खेलमा मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे । विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै इतिहास रचेको हो । जर्मनी सन् १९८२ यता विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेन । समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् ।
