बाल विवाहमुक्त गाउँ बनाउने योजनामा डाँडाखर्क–गोगनेका जनप्रतिनिधीहरु

तु खबर संवाददाता
२०७५ असार ४, सोमबार ०९:५४

मकवानपुर, ०४ असार । मकवानपुरको कैलाश गाउँपालिका डाँडाखर्कका जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउन योजनाबद्घ रुपमा लागिपर्ने भएका छन् । कैलाश गाउँपालिकाको वडा नम्बर १ र २ का जन प्रतिनिधीले आफ्नो वडालाई बाल विवाहमुक्त बनाउन विभिन्न योजना बनाएर लागिपर्ने बताउँदै त्यसको तयारीमा समेत जुट्ने प्रण गरेका छन् । ‘बाल विवाहमुक्त वडा बनाउनका लागि आवश्यक प्रकृया र सबै खालका कार्य गर्न आवश्यक तयारीमा हामी लाग्नेछौँ । ’ कैलाश गाउँपालिका वडा नम्बर २, डाँडाखर्कका अध्यक्ष राजेन्द्र घिसीङ भन्छन्, ‘प्रदेश सरकारले अघि सारेको आगामी तीन वर्षभित्र बाल विवाहमुक्त प्रदेश बनाउने लक्ष्य पूरा गर्नका लागि हामी हाम्रो ठाउँबाट लागिपर्नेछौं । ’

गाउँमा बाल विवाहको समस्या व्यापक रहेकाले विस्तारै न्यूनीकरण हुँदै जानेमा उनी विश्वस्त छन् । ‘पछिल्लो समय बाल विवाह विरुद्घ विभिन्न सामाजिक अभियानहरु सञ्चालन भइरहेका छन् ।’ अध्यक्ष घिसीङ भन्छन्, ‘सरकारी, गैर सरकारी संस्थाका साथै सरोकारवाला सबै पक्ष जिम्मेवार भएर लागिपर्ने हो भने बाल विवाह मुक्त बनाउने अभियान समयमै सफल हुनेछ । ’ कैलाश गाउँपालिकाको सहयोग तथा समन्वयमा बाल कल्याण समाज मकवानपुरले डाँडाखर्क, खोलाखर्कमा आयोजना गरेको ‘बाल विवाह न्यूनिकरण सम्बन्धि एक दिने अभिमुखीकरण’ मा सहभागी हँदै उनी भन्छन्, ‘हाम्रो गाउँठाउँमा बाल विवाहको गम्भीर समस्या भएकैले गाउँपालिकालाई यसबारे जागरणका लागि बजेट छुट्याउँन लगाएका हौं ।’ आगामी आर्थिक वर्षका लागि बाल विवाह विरुद्घ विभिन्न अभियानका लागि बजेट छुट्याउन भूमिका निर्वाह गर्ने वडा अध्यक्ष घिसीङले प्रतिबद्घता जनाए ।

भौगोलिक विकटता तथा जनजाति समुदायको बसोबास रहेको डाँडाखर्कमा गरिबी तथा अशिक्षाका कारण बालविवाह हुने गरेको बताइन्छ । ‘अशिक्षा र गरिबीका कारण पनि कतिपयको उमेरै नपुगि विवाह हुने गरेको छ । ’ स्थानीय सरस्वती निमाविका प्रधानाध्यापक लक्ष्मीदेव घिसिङ भन्छन्,‘छोराछोरीको विवाह गरिदिन पाए आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने अभिभावकका कारण पनि बाल विवाह हुने गरेको हो । ’ प्रधानाध्यापक घिसीङ भन्छन्, ‘अभिभावकले मात्र नभई आफूखुशी विवाह गर्ने पनि भएकाले बालविवाह विरुद्घ जनचेतनामूलक कार्यहरु सञ्चालन गर्नु आवश्यक छ । ’

कैलाश गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पेमा योञ्जन पनि डाँडाखर्कमा बाल विवाह सामाजिक समस्याका रुपमा रहेका कारण विस्तारै न्यूनीकरण गर्ने सवालमा आफूहरु लागिपर्ने बताउँछन् । ‘आजको भोली नै छु मन्तर भनेजस्तो बाल विवाह अन्त्य भइहाल्ने देखिदैन । ’ वडाध्यक्ष योञ्जन भन्छन्,‘बालबालिका,अभिभावक, शिक्षक लगायत समुदायका सबै सरोकारवाला बाल विवाहले पार्ने असरबारे जागरणमूलक अभियानमा लागिपरे डाँडाखर्कलाई बालविवाहमुक्त बनाउँन सफल भइनेछ । ’ नेपालमा सन् २०३० भित्र बाल बालविवाह अन्त्य गर्ने अभियानमा सरकार योजनाबद्घ रुपमा लागिपरेको अवस्थामा आफ्नो भागमा आइपरेको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको गाउँगाउँका जन प्रतिनिधीको प्रतिबद्घता छ । ‘बाल विवाहले घरेलु हिंसामात्र निम्त्याएको छैन की मानिसको भविष्य नै बर्बाद पारेको देखिएको छ । ’ कैलाश गाउँपालिका वडा नम्बर २, डाँडाखर्कका दलित महिला सदस्य पम्फा सुनार भन्छिन्,‘हिजोका दिनमा जे भए आगमी दिनमा कसैको बालविवाह नहोस् भन्नका लागि हामीले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न तयार छौं ।’

कैलाश गाउँपालिकाको डाँडाखर्कमा शनिबार र गोगने आइतबार बाल विवाह विरुद्घ अभिमुखीकरण सञ्चालन गरिएको थियो । स्थानीय जनप्रतिनिधी, बालबालिका, विद्यालयका प्रधानाध्यापक, वडाका विभिन्न क्षेत्रमा क्रियाशील सरोकारवालाको सहभागिता रहेको अभिमुखीकरणमा बाल विवाह, बाल विवाहले पार्ने असर, बाल विवाह न्यूनीकरणका लागि आवश्यक कार्य, बाल विवाह अन्त्यका लागि नेपाल सरकारले अघि सारेको रणनीति लगायतका विषयमा अभिमुखीकरण प्रदान गरिएको हो । अभिमुखीकरणमा सहभागी बनेकी कैलाश गाउँपालिका वडा नम्बर ५, गोगनेकी वडा सदस्य राधिका विश्वकर्मा हरेक व्यक्तिको मनैदेखि बाल विवाह गलत हो भन्ने भावना विकास भएमा बाल विवाह अन्त्य हुन सहज हुने बताउँछिन् । ‘गोगने बाल विवाह धेरै हुने ठाउँका रुपमा प्रचार भइरहेको छ ।’ उनी भन्छिन्, ‘यहाँका अभिभावकमा बाल विवाह गलत हो भन्ने भावना विकास हुदै गइरहेको छ । ’ प्रदेश सरकारले तीन वर्षपछि प्रदेशलाई बाल विवाहमुक्त प्रदेश बनाउने घोषणा गरिहँदा आफूहरु त्यसअघि नै गोगनेलाई बाल विवाहमुक्त बनाउने उनको अठोट छ । भन्छिन्,‘ गोगने बाल विवाह धेरै हुने ठाउँको रुपमा होइन की बालविवाहमुक्त गाउँका रुपमा चिनाउने चाहना छ । ’ नियमित विद्यालय पठाउने, विद्यालय छाडेकालाई जीवनोयोगी शिप प्रदान गरेर सक्षम बनाउँने, अभिभावकलाई आर्थिक उत्पादनसंग जोड्ने लगायतका कार्य गरेमा बाल विवाह न्यूनीकरण हुदै अन्त्य नै हुने वडा सदस्य विश्वकर्माको भनाई छ ।

मकवानपुरको विकट क्षेत्र डाँडाखर्क तथा गोगनेमा सञ्चालन गरिएको बालविवाह विरुद्घको अभिमुखीकरणले बाल विवाह अन्त्य गर्ने सरकारको लक्ष्यमा केही मात्रामा भने पनि सघाउ पुग्ने आफूहरुको अपेक्षा रहेको बालकल्याण समाजका कार्यक्रम प्रबन्धक कमल फुयाल बताउँछन् । ‘बालबालिकाका क्षेत्रमा क्रियाशील हामी बाल विवाहको जल्दोबल्दो सवालमा विभिन्न जागरणमूलक अभियानमा छौं ।’ कार्यक्रम प्रबन्धक फुयाल भन्छन्, ‘यो पटक कैलाश गाउँपालिकाको सहकार्यमा गाउँपालिकाका साविकका विभिन्न गाविसमा बाल विवाह विरुद्घ अभिमुखीकरण सञ्चालन गरिरहेका छौं ।’ उनका अनुसार अभियान अन्तर्गत नै डाँडाखर्क र गोगनेमा सरोकारवालाका लागि एक–एक दिने अभिमुखीकरण प्रदान गरिएको हो । यसका साथै कैलाश गाउँपालिकाका कालिकाटार, भार्ता र नामटारमा पनि बाल विवाह विरुद्घ अभिमुखीकरण सञ्चालन गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रबन्धक फुयाँलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*