कमानेमा स्वास्थ्य शिविर, १५ जनालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना
हेटौँडा, ०२ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा पाठेघर तथा स्तन क्यान्सर परिक्षण सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल नर्सिङ संघ मकवानपुर शाखाको आयोजना तथा किरणचोक टोल विकास संस्था किरण चोक आमा समूहको सहआयोजनामा शिविर संचालन भएको हो । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको शिविरलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका थिए । मेयर महतको प्रमुख आतिथ्यता तथा संघका मकवानपुर शाखा अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

शिविरमा १ सय ८१ जनाले स्वास्थ्य जाँच गराएकामा १५ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर (भिटिए) को सम्भावना देखिएको संघकी सचिव निर्मला ब्लोनले जानकारी दिईन् । त्यस्तै ६ जनाको स्तनमा गाँठागुठी देखिएको र ६ जना महिलामा पाठेघर खस्ने समस्या देखिएका कारण उनीहरुलाई समस्या रोकथामकालागि रिङ प्रेसरी राखिएको छ । शिविरमा जाँचका लागि पुगेका महिलाहरुलाई औँषधी समेत वितरण गरिएको छ ।
शिविरमा हेटौँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रामकाजी महर्जनको टोलीले स्वास्थ्य जाँचमा सेवा पुराएका थिए ।

