माननीय मुख्यमन्त्री ज्यू, ‘हेटौँडाको सडक, सडक हो कि भैँसीले आहाल खेल्ने पोखरी ?’
–बलराम पुडासैनी
हेटौँडा, ०२ असार । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा स्मार्ट सिटी बन्ला र सुन्दर, सफा सहरमा विभिन्न सेवा सुविधाको उपभोग गरौँला भन्ने आशाले मख्ख पर्दै आएका हेटौँडाका जनता आजभोलि वाक्कै भईसकेका छन् । स्मार्ट सिटीका साथ विभिन्न सेवा सुविधा प्राप्त गर्ने कुरा त कहाँ हो कहाँ, सामान्य सडक मर्मतमा समेत सरोकारवालाहरुको ध्यान जान नसक्दा हेटौँडाको सुन्दर अनुहार आजभोलि बिग्रँदै गएको छ । हेटौँडाका अधिकांश सडकहरुका खाल्डोहरुमा एक पटक पानी परेपछि जमेर पोखरीनै बन्छ । झट्ट हेर्दा गाँउघरमा भैँसी नुहाउनको लागि बनाईएको आहालजस्तै देखिन्छ । हिँड्दा सडकका खाडलमा जमेका पोखरीमा घुँडासम्म डुब्छ अनि गाडी गुड्दा उछिट्टीएका हिलोका छिट्टाले टिलिक्क टल्केर बाटोमा हिँडेका पैदल यात्रुलाई चिन्नै नसक्ने ध्वाँसे बनाइदिन्छ । ‘यो त अति भो, धेरै बिजोक भो’, हेटौँडा ४ मा डेरा लिएर बसेका मिन प्रसाद चौंलागाईले गुनासो गरे ।
सवारी साधनमा यात्रा गर्नेलाई पनि कम सास्ती छैन्् मोटर साईकलको साईलेन्सर पाईपसम्म पानी पुगेर मोटरसाईकल सडकका खाडलमा जमेका पानी पोखरीकै बिचमा स्टार्ट बन्द भएर रोकिन्छन् । ढल टालिएकोले बाँसको भाटाले ढलमा पानी बग्लाकी भन्दै ढल घोच्नुपर्ने हेटौँडाका स्थानीयको दैनिकीनै बनेको छ । बर्खायाम सुरुवातमै यस्ता दृश्य देखिनुले सर्वसाधारणलाई अझैं सास्ती थपिने संकेत गरिरहेको छ ।
बजार क्षेत्रका विभिन्न स्थानका सडक भत्किएर खाडल बनेको छ । अझैं हेटौँडाको बषपार्क क्षेत्रका सडकहरु त झनै नाजुक अवस्थामा छन् । सानातिना सवारी साधनहरु छिर्ने खालकै प्वालहरु परिसकेका छन् । रात्रिको समयमा यात्रा गर्ने सवारी साधनहरु दुर्घटना हुन सक्ने संभावना पनि उत्तिकै छ । पुर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनको चाप निकै छ तर यस्तो व्यस्त सडकका खाडलहरु बेलैमा मर्मतसंहार हुन सकेको छैन । विषेश गरी बर्षपार्क देखि जिल्ला प्रहरी कार्यालयसम्म जाने बाटोको अवस्था निकै नै दयनिय छ ।

त्यतिमात्र होईन हेटौँडा ४ पारिजातपथ अजरअमररोड प्रवेश गर्ने चोकको सडक मर्मत हुन नसक्दा साना सवारी तथा पैदलयात्रीहरुले निकैनै सास्ती पाईरहेका छन् । उक्त सडकमा सामान्य पानी परेकै अवस्थामा समेत सवारीको आधाआधी हुनेसम्म पानी जम्ने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । हेटौँडाका विभिन्न स्थानका सडकका खाडल नटालिनु अनि ढल व्यवस्थापन नहुनुले प्रदेश राजधानिको स्मार्ट सिटीको अवधारणालाई गिज्याईरहेको छ ।
त्यसो त मुलुकमा अहिले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन समेत सम्पन्न भई प्रदेश सरकार समेत बनिसकेको छ । यसैबिचमा प्रदेश सरकारको स्मार्ट सिटीको योजना र हेटौँडाका मुख्य स्थानमा यस्ता लाजमर्दो दृश्य देखिनुले स्मार्ट सिटीको बिषयले हावा खायो भन्दा अनुचित नहोला । त्यतिमात्र होईन मकवानपुरको हेटौँडामा राति ९ बजेपछि एटिएम बुथहरु बन्द हुन्छन् । करिब राति १० बजेसम्म सानिमा बैँकको एटिएम बाहेक अन्य बैँकका एटिएम बुथहरु मान्छेभन्दा अगाडि निदाइसकेका हुन्छन् । त्यसोत पेट्रोलियम व्यवसायीहरुको हेपाह प्रवृत्तिका कारण राती ९ बजेपछि हेटौँडाका पेट्रोल पम्पहरुमा सटर लगाईएका हुन्छन् । सवारी व्यवस्थापन अन्यौल छ । सवारी पार्किङको लागि आवश्यक स्थान हेटौंडाका सडकमा छैन अनि नो पार्किङ लेखिएका बोर्डहरुकै अगाडि सडक नै अबरुद्ध हुनेगरी सर्वसाधारण सवारी पार्किङ गर्न बाध्य छन् । बजारका पसलहरु नै पिच्छे सामानको मुल्य फरक फरक छन् । अझ लाजमर्दो अवस्था त लोडसेडिङ मुक्त भईयो भनेर मख्ख परेका हेटौँडाका सर्वसाधारण आझभोलि मैनबत्ति बालेर साँझ खाना पकाएर खान्छन् । देशलाई उज्यालो बनाउने उदेश्य बोकेका कुलमान घिसिङलाई समेत मुख देखाउन नसक्ने गरि विद्यूत प्राधिकरणले हेटौँडामा दिनमै ३० पटक भन्दा बढी बत्ति काट्ने फेरि छोड्ने गरिरहन्छ ।
स्मार्ट सिटी भनेर कुद्नेहरुले नै स्मार्ट सिटीको अवधारणा नबुझिरहेको अवस्थामा स्मार्ट सिटी कहाँ छ भनेर सोधिरहँदा स्थानीयले जवाफ दिन सक्छन्, ‘स्मार्ट सिटी ढलभित्र छ ।’ यी सबै समस्या भोगिरहेका हेटौँडावासीहरुले अब एकपटक सोध्नै पर्ने भएको छ – ‘माननीय मुख्यमन्त्री ज्यू स्मार्ट सिटीले हावा खाएकै हो त ?’
हेरौँ केही जनता र जनप्रतिनिधिका गुनासा र हरिबिजोग भएका सकडकको तस्बिर–


