प्रदेश ३ मा आकस्मिक कोष र वित्तीय हस्तान्तरण सम्बन्धी विधेयक पारित
मकवानपुर, ३१ जेठ । प्रदेश ३ को प्रदेशसभा बैठकमा आज दुईवटा विधेयक पारित भएका छन् । प्रदेशसभा भवन हेटौँडामा आज दिउँसो बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले विधेयक निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो ।
बैठकमा आज अर्थ तथा विकास समितिका सभापति सुरेश नेपालले प्रतिवेदनसहितको विधेयक प्रदेशसभा बैठकमा पेश गरेका थिए । प्रदेश सरकारले भोलि आगामी आर्थिक बर्ष २०७५–०७६ का लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ ।
