हेटौँडाको सार्वजनिक स्थानमा ठूलो पर्दामा विश्वकप फुटबल हेर्न रोक

तु खबर संवाददाता
२०७५ जेष्ठ ३१, बिहीबार १६:५३

हेटौँडा, ३१ जेठ । बिहिबारबाट सुरु हुनलागेको विश्व कप फुटबलको २१ औँ संस्करण हेटौँडामा खुला सार्वजनिक स्थानमा हेर्न नपाईने भएको छ । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गर्दै हेटौँडाका कुनै पनि सार्वजनिक स्थानमा ठूलो पर्दामा फुटबल हेर्न नपाईने नियम लगाएको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारी गरेको सूचनामा विश्वकप अवधिभर फुटबल सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन नपाईने, सूचनामा कुनै पनि सार्वजनिक अनुगमनलाई प्रभावित पार्न नपाइने, प्रर्दशनी स्थलमा प्रवेश शुल्क लिन नपाईने, खेलमा हारजित हुनेगरि बाजी लगाउन नपाईने जस्ता १० वटा नियमहरु उल्लेख छ । फुटबल खेल देखाउनु परेमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुने तयारी छ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा उद्घाटनका क्रममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ । विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबिच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

विश्वकपको प्रतिस्पर्धामा यो वर्ष ३२ टिम सहभागी हुँदैछन् । सहभागी टिमलाई एक समूहमा ४ राष्ट्र पर्ने गरी आठ समूहमा बिभाजन गरिएको छ । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्ने छन् । विश्वकपमा यो वर्ष आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् । रुसमा हुने यस विश्वकपबाट नै पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*