राक्सिराङबाट २ युवक लागुऔषध सहित पक्राउ
मकवानपुर, २८ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजासहित सोमबार राति २ पुरुषलाई पक्राउ गरिएको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का ३९ वर्षीय मानबहादुर मोक्तान र चितवनको राप्ति नगरपालिका वडा नम्बर १२ बस्ने ४० बर्षीय बिरबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
सोमबार राति करिब १ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका ६ स्थित लोथर खोलामा लागु औषद गाँजा खरिद बिक्रि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुको साथबाट १ सय १७ केजी गाँजा फेला परेको बताइएको छ । उनीहरुलाई लागु औषध ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
