प्रदेश ३ को नीति तथा कार्यक्रम आज पारित हुने
हेटौँडा, २४ जेठ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रस्तुत गरिएको प्रदेश नम्बर ३ को आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट आज पारित हुने भएको छ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।
नीति तथा कार्यक्रममाथिको छलफल सकिएसँगै प्रदेश सभा हेटौँडामा आज दिउँसो १ बजे बस्ने बैठकबाट आर्थिक बर्ष ०७५–०७६ को नीति तथा कार्यक्रम पारित गरिन लागेको हो । नीति तथा कार्यक्रममाथि दुई दिन प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए ।
नीति तथा कार्यक्रम पारित हुनुपूर्व आज नै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने समेत कार्यतालिका छ ।
