भोर्लेमा विद्यालयको अनगुमनकालागि पुगे मेयर महत र वडाअध्यक्ष घलान
–चन्द्र घलान
हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा अवस्थित विष्णुज्योति आधारभूत विद्यालयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानको टोली अनुगमनका लागि पुगेको छ ।

विभिन्न समस्या झेलिरहेको विद्यालयको स्थलगत अनुगमन गरि उचित व्यवस्थापनको उपाय पत्ता लगाउने उदेश्यले विद्यालयमा अनुगमनका लागि पुगेको वडाअध्यक्ष घलानले बताए ।अनुगमनका क्रममा विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था तथा विद्यार्थीको सिकाई उपलब्धी लगायतका विषयमा जानकारी लिइएको थियो । जस्ताको छानोमा संचालन हुँदै आएको विद्यालयमा पानी चुहिने तथा भवन समेत करिब जिर्ण अवस्थामा पुगीसकेको उनले बताए । ‘हामीले अनुगमनमा जस्ताबाट पानी चुहिने समस्या रहेको पनि भेट्टायौँ, भवन समेत जिर्ण छ, ढलान गर्नका लागि उचित सहयोग र सहकार्यमा जुट्नेछौँ, वडा अध्यक्ष घलानले भने, ‘नगरपालिकाको समेत सहयोगमा विद्यालय भवन निर्माणको लागि सहयोगी हात जुटाउने प्रयत्न गरिरहेका छौँ ।’

वडा अध्यक्ष घलानका अनुसार विद्यालयमा नयाँ ढलानसहितको भवनको आवश्यकता देखिएको छ । विद्यालयमा केही समयअघि अङ्ग्रेजी माध्यममा कक्षा संचालन गरिएता पनि आर्थिक समस्या तथा व्यवस्थापनमा समस्या आएपछि नेपाली माध्यममा मात्र पढाई हुने गरेको पाइएको छ । मेयर महतले समेत विद्यालय व्यवस्थापनका लागि श्रोत खोजिने बताएका छन् ।

विद्यालयको अनुगमनमा मेयर महत, वडा अध्यक्ष घलानसहित कार्यपालिका सदस्य रुक्मणी गोङ्वा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरी थापा, वडा सदस्य भुवन खनाल लगायतको सहभागीता रहेको थियो ।

