मकवानपुरका सबै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ निर्माण गरिने
मकवानपुर, २२ जेठ । राज्यको पुनः संरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पनि पुन ः संरचनाको अभियानले तिब्रता पाएको छ । अभियान अन्तर्गत मकवानपुरको दश वटै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ कार्य समिति गठन भएका छन् । जिल्ला तहमा जिल्ला स्तरको महासंघ गठन गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय महासचिव भारती पाठकले जानकारी दिइन् ।‘सामुदायिक वन उपभोक्ता महासंघलाई पनि देशको नयाँ संरचना अनुसार लगेका छौं ।’ महासचिव पाठकले भनिन्, ‘ स्थानीय तहमा महासंघ कार्य समिति निर्माणको कार्य सकेर प्रदेश र संघीय कार्य समिति निर्माणको तयारीमा होमिएका छौं । ’
महासचिव पाठकका अनुसार मकवानपुरमा साधुराम चौलागाईंको नेतृत्वमा जिल्ला स्तरको महासंघ निर्माण गरिएको छ भने हेटौंडा उपहामनगर, थाहा नगर तथा मकवानपुरका ८ वटा गाउँपालिकामा पनि महासंघ गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा शम्भुप्रसाद न्यौपाने, थाहा नगरपालिकामा शिवराम थापा, मकवानपुरगढी गाउँपालिकामा बलराम अधिकारी, भीमफेदी गाउँपालिकामा शिव रुम्बा, बागमती गाउँपालिकामा दलबहादुर राई, बकैया गाउँपालिकामा भक्तबहादुर खत्री, राक्सिराङ गाउँपालिकामा केशव भारती, कैलाश गाउँपालिकामा बच्चुराम ढुङ्गाना, इन्द्रसरोवर गाउँपालिकामा सावित्री गौतम र मनहरी गाउँपालिकामा हेमलाल उप्रेतीको अध्यक्षतामा स्थानीय तह स्तरिय सामुदायिक वन उपभोक्ता महासंघ निर्माण गरिएको हो ।
स्थानीय तहमा महासंघ निर्माणसंगै महासंघको प्रदेश अधिवेशनका लागि पनि प्रतिनिधी छान्ने काम भएको हो । स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ निर्माणसंगै स्थानीय तहमा निर्माण हुने वन सम्बन्धि कानूनमा स्थानीय सरकारसंग समन्वय गर्ने, समुदायको अधिकार स्थापित गर्न विभिन्न सरोकारवाला र निती निर्मातासंग समन्वय, सहकार्य र संवाद गर्ने, मकवानपुरमा रहेका सम्भावित सामुदायिक वन उपभोक्ता समूहमा पर्यापर्यटनको विकासका लागि सबै पक्षसंग सहकार्य गर्ने निर्णय पनि गरिएको छ । यस्तै, सामुदायिक वन उपभोक्ता समूहमार्फत गरिब, विपन्न, महिला, दलित, जनजाति, आदिवासी र पछाडी पारिएका समुदायको जीविकोपार्जनमा परिवर्तन ल्याउँन तथा उद्यम सञ्चालन गर्न, नेतृत्व एवम् क्षमता विकास गर्न समन्वय–सहकार्य गर्ने, सामुदायिक वन उपभोक्ता समूहमा आएका समस्या समाधान गर्न नेपाल सरकारसंग संवाद गर्ने लगायतका कार्य गर्न पनि सामुदायिक वन उपभोक्ता महासंघ लागिपर्ने भएको छ ।
देशमा संघीयताको कार्यान्वयनसंगै सामुदायिक वन उपभोक्ता महासंघको संरचनामा पनि परिवर्तन गरी सामुदायिक वन तथा स्थानीय नागरिकलाई अधिकार सम्पन्न बनाउँने अभियानमा आफूहरु लागिपरेको महासचिव पाठकले बताइन् । सरकारले ल्याउन लागेको राष्ट्रिय वन नितीमा सामुदायिक वन र वन क्षेत्रका नागरिकलाई अधिकार सम्पन्न बनाउँनका लागि आफूहरुले पहल गरिरहेको उनले बताइन् । महासचिव पाठकले प्रदेश स्तरिय महासंघ निर्माणपछि संघीय महासंघको महाधिवेशन तयारीमा आफूहरु लागिपरेको बताइन् । मकवानपुरको हेटौंडा निवासी केन्द्रिय महासचिव पाठकले महासंघको आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी आफूले पाउँने आशा पनि व्यक्त गरिन् ।
