वक्तृत्वकलामा प्रज्वल, विदुर, स्वस्तिका र रुपालाई नगद पुरस्कार
हेटौँडा, २१ जेठ । ४६ औं विश्व वातावरण दिवसको अवसरमा ‘सामुदायिक वनको विकासमा स्थानीय तहको भूमिका’ विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा भुटनदेवी माविका प्रज्वल पुडासैनी प्रथम, बंशगोपाल माविका विदुर घिमिरे दोस्रो, चन्द्रोदय माविकी स्वस्तिका घलान तृतिय र राजदेवी माविकी रुपा विश्वकर्मा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार र सान्त्वना हुने विद्यार्थीले १ हजार रुपैँया प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा गिता अधिकारी, भवानी गौतम र केदार गौतम रहेका थिए ।
हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न महिला उपसमूहलाई विउपूँजी, छात्रबृत्ति, गोबर ग्याँस र सुधारिएको चुलो निर्माण गर्ने उपभोक्ताहरुलाइृ अनुदान रकम वितरण गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
