मकवानपुरगढीका विद्यार्थीलाई ६ दिने पत्रकारिता तालिम सुरु
मकवानपुर, २० जेठ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा मकवानपुरगढीका विद्यार्थीहरुका लागि ६ दिने आधारभूत पत्रकारिता तालिम शनिबारबाट हेटौँडामा सुरु भएको छ ।
मकवानपुरगढी गाउँपालिका घर भई विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत तथा पत्रकार बन्न चाहानेहरुका लागि तालिमको आयोजना गरिएको हो । तालिमको शनिबार गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत भिम परियारको प्रमुख आतिथ्यता र महासंघ जिल्ला साखा अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा उद्घाटन गरिएको छ ।
उद्घाटनका दिन तालिममा सहभागीहरुले पत्रकारिता पढ्न चाहेको भए पनि गाउँका क्याम्पस र विद्यालयमा मास कम्यूनिकेशन विषय उपलब्ध नभएकोले पढ्न नपाएको गुनासो गरेका थिए । साथै तालिममा पत्रकारिता सम्बन्धी आधारभूत कुराहरु सिक्न पाइने अपेक्षा राखेको बताएका थिए । तालिममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर, महासंघ अध्यक्ष हरि हुमागाई सहित उपाध्यक्षद्वय कुमार अधिकारी ‘पोष्टराज’, सरिता दाहाल, सचिव गणेश दर्पण अधिकारी, कोषाध्यक्ष सुदिप सिवाकोटी, सदस्यहरु अशोक सुजन श्रेष्ठ, चन्द्र घलान, केशव समर्पण लगायतले पत्रकारितामा आफुले भोगेका अनुभवहरु सुनाएका थिए ।
तालिममा पत्रकारिताका आधारभूत सिपहरु अनुभवी प्रशिक्षकहरुद्वारा सिकाईने बताइएको छ ।
