मकवानपुरमा जनप्रतिनिधिहरुले नै दिँदैनन् सूचना, सूचनामा व्यापक चलखेल
–चन्द्र घलान
मकवानपुर, १८ जेठ । मकवानपुर जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुले नै सूचना नदिने गरेको संचारकर्मीहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको आयोजनामा आज महासंघ सभाहलमा भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनुभव साटासाट गर्दैै पत्रकारहरुले जनप्रतिनिधिहरु आईसकेपछि सूचना लिन कर्मचारीतन्त्रका बेलाभन्दा झन बढी असहज भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै वक्ताहरुले सूचनाका हकका सवालमा मकवानपुरमा केही अभ्यास भएर कार्यालयहरुले सूचना अधिकारी तोक्ने तथा निश्चित समयमा सूचना सार्वजनिक गर्ने परिपाटीको सुरुवात भए पनि जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि सूचना सार्वजनिक गर्ने कार्य नै बन्द भएको बताए । केही जनप्रतिनिधिहरुलाई सूचनाको हक तथा सूचना सार्वजनिक गर्नुपर्छ भन्ने कुराको जानकारी नभएर तथा व्यवस्थापनमा लाग्दा त्यस्तो समस्या आएको भए पनि केही जनप्रतिनिधिहरुमा भने जनताबाट चुनिएकाले किन सूचना दिनुपर्यो र ? भन्ने मानसिकता रहेको समेत उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले सूचना अधिकारी नियुक्त नगर्ने कार्यालयले सूचनाको हकको सम्मान गर्न नसक्ने बताए । सूचना नदिने कार्यालय र जनप्रतिनिधि असफल हुने भन्दै उनले सूचना नदिने र गलत सूचना दिने कर्मचारीलाई सजायको व्यवस्था भएको बताए । तथ्यगत पत्रकारिताका लागि पत्रकारहरुले सूचनाको हक प्रयोग गर्नैपर्ने बताउँदै उनले शिक्षा, न्याय सम्पादन र कानुन निर्माणमा समेत तथ्यगत पत्रकारिताले सघाउने बताए । महासंघका जिल्ला अध्यक्ष हरि हुमागाईले जिल्लाका कार्यालयहरुमा सूचना अधिकारीहरु नभएको र सूचना प्रकाशन तथा पत्रकार सम्मेलन नै नगर्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै सक्रिय पत्रकार रुपेश दुलालले जनप्रतिनिधिहरुले नै सूचना लुकाउने गरेको बताए । कर्मचारीहरुभन्दा पनि जनप्रतिनिधिहरु सूचना लुकाउने काममा अगाडि देखिएको उनले जिकीर गरे । कार्यालयहरुले एकिकृत रुपमा दिने गरेको ३ महिने सूचना, संचारमाध्यमबाट सार्वजनिक हुने मासिक बुलेटिन लगायका सबै सूचनाहरु रोकिएको उनले बताए । अहिलेसम्म स्थानीय तहले के–के गर्यो थाहै नभएको भन्दै उनले जनप्रतिनिधिहरु अपारदर्शी हुँदै गएको बताए । सूचना गलत कामको उजागर गर्न मात्र नभई सही र सराहनीय कामको प्रचार गर्नका लागि पनि मागिने गरेको बताउँदै उनले त्यस्ता सूचनाहरु पाउन निकै कठिनाई हुने गरेको बताए ।
‘आफ्नै पार्टी र नजिकलाई मात्र सूचना, अरुलाई अत्तोपत्तो छैन’
कार्यक्रममा बोल्दै महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष राममणि दाहालले सूचना दिने कार्य नभएको भन्दै सूचना दिए पनि आफ्ना नजिककालाई मात्र सुटुक्क दिने गरेको आरोप लगाए । सूचनाको हकबाट नागरिकलाई विमुख गराउने कार्य जनप्रतिनिधि तथा प्रदेश सरकार र तिनका निकायबाट भइरहेको उनले जिकीर गरे । दाहालकै कुरामा समर्थन जनाउँदै वक्ताहरुले स्थानीय तहबाट नै सूचना लुकाउने कार्य भइरहेको बताए ।
प्रदेश सरकार तथा मन्त्री परिषदका कार्यालयमा हुने कतिपय कार्यक्रमहरु तथा महत्वपूर्ण विषयमा समेत केही चाकडी गर्ने र नजिकका तथा आफ्ना पार्टीका पत्रकारहरुलाई मात्र जानकारी गराउने परिपाटी मकवानपुरमा रहेको वक्ताहरुले बताए । प्रदेश सरकार तथा विभिन्न निकायका सूचना पोर्टलहरु समेत निश्क्रीय रहेको बताउँदै दाहालले सूचनामा ठूलो विभेद भएको बताए । सिमित घेरामा बसेर सूचना दिने र केही सूचना गलत पनि दिने गरेको वक्ताहरुले बताए । आधिकारिक व्यक्तिले नै गलत सूचना दिएका कारण समस्यामा पर्ने अवस्थामा रहेको समेत पत्रकारहरुले बताए ।
‘सूचनाको हकको अवस्था देशभरी नै नाजुक’
सूचनाको हकको अवस्था देशभरि नै उस्तै भएको समेत वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले देशव्यापी रुपमा सूचनाको हकसम्बन्धी अवस्था नाजुक रहेको बताए । सूचना लिने सवालमा पत्रकारहरु समेत पछि परेको बताउँदै उनले केही पत्रकारहरु महासंघको सदस्यता कार्ड लिन हतार गर्ने तर सूचना पाउने कार्यक्रम र निर्वाचन जस्तो विशेष कार्यमा पनि सहभागी नहुने गरेको तितो यथार्थ सुनाए । सूचना दिने कुरामा स्थानीय तह तथा सरकारका विभिन्न निकाय नै सचेत नभएको उनले बताए ।
सरकारी कर्मचारीहरु सूचना लुकाउने र दराजभित्र राख्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित रहेको भन्दै सूचना दिनु भनेको आफुले पनि सूचना पाउनु हो भन्ने कुरा थाहा हुन जरुरी रहेको बताए ।
‘सूचनाको हक, पत्रकारको मात्र हक हो भन्ने गलत बुझाई ’
कार्यक्रमका वक्ताहरुले सूचनाको हक पत्रकारको मात्र हक भएको भन्ने गलत मानसिकता कर्मचारी र जनप्रतिनिधिहरुमा रहेको बताए । सर्वसाधरण नागरिकले सूचना माग गर्दा केलाई चाहियो ? भन्दै अलमलाएर उल्टै दुव्र्यव्यहार गर्ने गरेको वक्ताहरुले सुनाए । कार्यक्रममा केही कार्यालयका सूचना अधिकारीहरुले आफुसँग मोबाईल नभएको, कार्यालयको नम्बर नदिएको तथा मागेको सूचना महिनौँ बित्दा पनि नपाएको गुनासो पत्रकारहरुले गरे । त्यस्तै केही पत्रकारहरुले सूचना माग गर्दा अदालतसम्म पुग्नुपरेको तथ्य समेत वक्ताहरुले उजागर गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्टले सूचनाको हक बारे जनप्रतिनिधि नै अन्जान रहेको बताए । थाहा हुनेहरुले पनि सूचनाको हक भनेको गलत कुरा हो र हामीलाई सिध्याउन बनेको हो भन्ने गलत अर्थमा बुझेका कारण सूचनाको हक कार्यान्वयनमा समस्या आएको बताए ।
कार्यक्रममा महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार नवराज शर्मा, पूर्व अध्यक्ष भानुभक्त आचार्य, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर, जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख जनकप्रसाद न्यौपाने, संचार केन्द्र हेटौँडाका प्रमुख दिलिप श्रेष्ठ, विभिन्न पत्रकार संगठनका अध्यक्षहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
