असार ६ गतदेखि हेटौँडामा काँग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै, विभिन्न १० समितिहरु गठन
हेटौँडा, १७ जेठ । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । राष्ट्रिय भेला सफल बनाउनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको उपस्तिथिमा विहिबार विभिन्न १० समितिहरु समेत गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा जानकारी दिंदै मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले प्रदेश समन्वय संयोजकमा उपसभापति विष्णुप्रसाद लामिछाने, मिडिया सेन्टर संयोजकमा जिल्ला सचिव बुद्ध लामा, मञ्च तथा हल व्यवस्थापनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रचारप्रसार संयोजकमा प्रवक्ता प्रदिप कोईराला रहेको बताए ।
त्यस्तै खाना संयोजकमा जिल्ला सदस्य रामबाबु बानियाँ, स्वास्थ्य संयोजकमा जिल्ला सदस्य राजिव सुवेदी, स्वयमसेवक समिति संयोजकमा जिल्ला सदस्य अर्जुन तिवारी, आभाष संयोजक सल्लाहकार भरत पराजुली, साँस्कृतिक संयोजक जिल्ला सदस्य सुशान्त श्रेष्ठ र अतिथि सत्कारमा हेटौंडा नगर सभापति आनन्दराम पराजुली रहेको सभापति बानियाँले जानकारी दिनुभयो ।
सभापतिहरुको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरु र केन्द्रीय समितिका ८५ पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने केन्द्रीय प्रवक्ता शर्माले जानकारी दिए । केन्द्रीय प्रवक्ता शर्माले राष्ट्रिय भेला बदलिएको संरचनामा विधान कसरी बनाउने ? पार्टीको संगठन तथा भातृ–शुभेच्छुक संघसंगठनहरु सुदृढिकरण कसरी गर्ने ? र समसामयिक राजनीतिक परिबेशको बारेमा केन्द्रित रहने बताउनुभएको छ ।
