हेटौँडाबाट सरकारलाई काँग्रेसका प्रवक्ताको व्यङ्ग्य–‘नारामा बायुपंखी, पारामा बयल गाडा बजेट’

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार १६:४६

मकवानपुर, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रस्तुत गरेको बजेटप्रति व्यङ्ग्य गर्दै बजेट नारामा बायुपंखी घोडा जस्तो देखिए पनि पारामा बयल गाडा जस्तो भएको बताएका छन् ।

चुनावअघि बाम गठबन्धनले भने जस्तो कार्यक्रमहरु यस बजेटमा नपरेको तर्फ संकेत गर्दै उनले भने, ‘सहज राजनीतिक अवस्था भएको बेलामा जे जस्तो अपेक्षा गरिएको थियो त्यो अनुसार अहिलेको सरकारबाट कार्य भएन ।’, उनले भने, ‘नारामा बायुपंखी घोडा अनि पारामा बयल गाडा जस्तो अवस्था अहिलेको बजेटले सिर्जना गरेको बारे तपाई पनि जान्नुहुन्छ ।’

कांग्रेस सभापतिहरुको राष्ट्रिय भेलाको तयारीको विषयमा आज हेटौंडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै शर्माले नेपाली कांग्रेसको आन्तरिक कलह चाँडै मत्थर हुने दाबी समेत गरे । पार्टीभित्र सामान्य अन्तरविरोध भएको भन्दै उनले अब हेटौँडामा पार्टीको मन्थन हुने र पार्टी नयाँ ढंगले अघि बढने समेत बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा हेटौंडा आएका शर्माले यो समयमा नेपाली कांग्रेस ‘नवीन कांग्रेस’को रुपमा अघि बढ्ने तरखरमा रहेको बताए । आगामी असार ५, ६ र ७ गते हुने भेलाले कँंग्रेसको जागरण अभियानको उद्घोष गर्ने तथा जागरण अभियानको नामाकरण समेत गर्ने उनले बताए । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले भेलालाई भव्य रुपमा सम्पन्न गर्न कांग्रेस मकवानपुर लागिपरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*