युवा आफैले गरे नेपालमा कागज उद्योगको सञ्चालन

तु खबर संवाददाता
२०७५ जेष्ठ १३, आईतवार १४:२५
देविस्थानमा नेपाली कागज उद्योग म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा सञ्चालित नेपाली कागज उत्पादन गर्ने वेष्ट नेपाल नेप्लीज पेपर एण्ड ह्याण्डीक्राफट उद्योग । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

म्याग्दी, १३ जेठ । मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेरगइरहेको अर्गेलीको लोत्ताको सदुपयोग, रोजगारी सिर्जना र स्थानीयवासीको आयआर्जन वृद्धिका लागि उद्योग सञ्चालन गरेको २७ वर्षीय उद्यमी पुनले बताउनुभयो ।

वैदेशिक रोजगारीको विकल्पमा गाउँमै उद्यम, व्यवसाय गरेर स्वरोजगार बन्ने लक्ष्यसहित उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो । रु पाँच लाख लगानी गरी दर्ता प्रक्रियामा रहेको सो उद्योगमा चार जनाले नियमित रुपमा रोजगारी पाएका छन् । जंगलमा लोत्ता संकलन, ढुवानी र प्रशोधनको काममा थप दशजना आवद्ध छन् । उद्योग सञ्चालन भएपछि देवीस्थान, रुम, ओखरबोट, बिम, निस्कोट, ताकम, मुना, गुर्जा, मराको जंगलमा वर्षांैदेखि खेरगइरहेको लोत्ताको सदुपयोग भएको छ । लोत्ता बेचेर समुदायले आम्दानी गर्ने अवसर पाएका छन् । स्थानीयवासीले जंगलमा संकलन गर्ने लोत्ता खरिद गरिदिने सञ्चालक पुनले बताउनुभयो ।

यही जेठ महिनादेखि सञ्चालन भएको उद्योगबाट दैनिक एकदेखि तीन कोरी नेपाली कागज उत्पादनहुन्छ । तौल अनुसार प्रतिकोरी कागजको हालको बजार मूल्य रु आठ सयदेखि छ हजारसम्म पर्छ । सरकारी प्रशासनिक काममा प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुक, ल्याम्प सेट लगायतका सामग्री समेत बनाउन सकिन्छ । मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले लघु उद्यम विकास रणनीतिअनुसार कागज, अल्लो पुवा जस्ता स्थानीय स्रोत साधनमा आधारित उद्यमलाई प्रर्वद्धन गरिने बताउनुभयो । सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण जस्ता कार्यक्रम रहेका उपाध्यक्ष बिटालुले बताउनुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*