पक्राउ परे सुवेदी हत्याका अभियुक्तहरु
विकास पाण्डे / बारा । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका बजनीमा ६ महिना अघि भएको दीपक र दीपा सुवेदीको हत्याका अभियुक्तलाई आज इलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
बारा प्रहरी प्रमुख एसपी मिरा चौधरी आफै उपस्थित भएर पत्रकार सम्मेलनमार्फत् अभियुक्तहरु सार्वजनिक गरिएको हो । सो घटनामा संलग्नहरुलाई तत्काल सार्वजनिक गर्न माग गर्दै यस अघि यहाँ बारम्बार स्थानीयले दबाब सिर्जना गरेका थिए । दवावकै बीच प्रहरीले अभियुक्त पत्ता लगाउन सकिरहेको थिएन । तर, आज प्रहरीले घटनामा संलग्न भएको भन्दै चार जनालाई सार्वजनिक गरेको छ ।
गत वर्षको मंसिर १६ गते राति भएको यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ३८ को रमेश थापा, सोही ठाउँ बस्ने गोपाल लामा, वडा नं. ३ बस्ने गुप्तबहादुर लामा र नवलपरासी गैडाकोट बस्ने अर्जुन नेपालीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको बारा एसपी चौधरीले तु खबरलाई बताइन् ।
