मनहरीमा सिविनले रोक्यो बालविवाह
मकवानपुर, ११ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा हुन लागेको १६ वर्षिया बालिका र २७ वर्षिय पुरुषबिचको विवाह रोकिएको छ । सिविन नेपाल मकवानपुरको पहलमा असार ७ गतेका लागि तय गरिएको विवाह रोकिएको मनहरीबाट पत्रकार जयराम मोक्तानले जानकारी दिएका छन् ।
सिविन नेपाल मकवानपुरमा प्राप्त भएको जानकारीको आधारमा बिहीबार संस्थाबाट खटिएको टोलीले मनहरी पुगी तय गरिएको विवाह रोकेको हो । आउँदो असार ७ गते गते बिबाह गराउने भनि केटा पक्ष र केटी पक्षबिच जेठ ६ गते सहमति भएको थियो । बालिका पढाई छाडेर घरायसी काम बसिरहेको अवस्थामा विवाह तय गरिएको हो । उनी स्कुल जान छाडेको ९ महिना भइसहेको उनका अभिभावले बताए । पढाइ छाडेपछि उनका अभिभावकले बिवाहका लागि पटक पटक बालिकालाई आग्रह गरेको पाइएको छ ।
सिविन नेपाल मकवानपुरका सम्झना अधिकारीका अनुसार केटा तथा केटी दुबै पक्षका अभिभावक र केटाकेटी समेतलाई राखेर छलफल पश्चात विवाह रोकिएको हो । छलफलमा बालबिबाह गर्दा हुने समस्या तथा कानुनी बाधा अड्चनका बारेमा प्रस्ट पारे पछि दुबै पक्षबिच विवाह नगर्ने सहमति भएको हो । बालिकाले २० वर्ष पछि मात्रै बिवाह गर्ने र अरु बालबालिकाहरुलाई पनि २० वर्ष पछि मात्रै बिवाह गर्न आग्रह गरिन् । बालिकालाई बिहीबार नै मनहरी ८ सिमपानीमा रहेको महेन्द्र किरण माविमा कक्षा ९ मा सिबिन नेपाल मकवापुरले भर्ना समेत गरिदिएको छ ।
उनलाई सिविनले कापी, किताब, विद्यालय पोषाक, झोला लगायतको पनि ब्यबस्था गरिदिएको अधिकारीले बताए । बिवाह रोक्नकालागि मनहरी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गोपीराम मुक्तान, वडा सदस्य कृष्ण राई , प्लान नेपालका हरि भण्डारी लगायतको पनि सहभागिता रहेको थियो ।
