चुरे ओरालोमा टेम्पो पल्टियो, १४ घाईते, २ को अवस्था गम्भिर
मकवानपुर, १० जेठ । मकवानपुर र बाराको जिल्लाको सिमाना नजिकै चुरियामाई मन्दिर ओरालोमा आज बिहान टेम्पो दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
टाउकोमा गहिरो चोट लागेका बारा जितपुर–१४ का अन्दाजी २७ वर्षीय सञ्जय शाह तेली र जितपुर–३ का २८ वर्षिया रिमाकुमारी देवीको अवस्था गम्भिर रहेको बताइएको छ । घाईतेहरुमध्ये ८ जनाको हेटौँडा अस्पताल र ६ जनाको चुरे हिल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चुरियामाई मन्दिरको दर्शन गरी फर्कने क्रममा ओरालोमा ना १ ह ६७९ नम्बरको टेम्पोको ब्रेक फेल भई विपरीत दिशाबाट आईरहेको कारलाई ठक्कर दिँदा टेम्पो ट्रकसंग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
