प्रहरीले स्थानीयलाई हातपात गरेको भन्दै नेवारपानी चौकीमा प्रहरीमाथि नै हमला, ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ १०, बिहीबार २०:०७
file-photo

हेटौँडा, १० जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ पाल्दमारबाट केही स्थानीयलाई पक्रिएर लगी प्रहरीले हातपात गरेको भन्दै स्थानीयले प्रहरीमाथि नै धावा बोलेका छन् । उनीहरुले नेवारपानी प्रहरी चौकीमा सामान्य तोडफोड गर्नुका साथै चौकीमा रहेका प्रहरीको कपडा समेत च्यातिदिएको र हातपात समेत गरेको चौकीका प्रहरी ईन्चार्ज बिजय बानियाँले बताएका छन् ।

‘म जिल्लामा गएको समयमा, स्थानीयहरु १०० देखि २०० को संख्यामा आई प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरी माथि नै हातपात गरेछन्’, उनले भने, ‘हामीले ३ जनालाई पक्रिएर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ ।’ प्रहरीले पाल्दमारका पञ्चमाया स्याङ्तान, रीता मोक्तान र किरण रुम्बालाई नियन्त्रणमा लिएको हो ।

घटनाका बारेमा जानकारी दिँदै प्रहरी ईन्चार्ज बानियाँले सो घटना हुनुपूर्व ठगी सम्बन्धी एउटा केसको अनुसन्धानका सिलसिलामा आफुहरु पाल्दमार पुगेको र जेसीबी लगायतका उत्खनन उपकरणहरु प्रयोग गरि बालुवा गिट्टी उत्खनन् गरेको भेटिएपछि आफुहरुले केही चालक र सहचालकलाई चौकीमा ल्याएको बताए । नदीजन्य पदार्थ उत्खनन बन्द गरिएको अवस्थामा समेत निकुञ्जको सामान्य पत्रकै आधारमा निर्वाध उत्खनन् गरेको पाइएता पनि नियन्त्रणमा लिइएका जेसीबी चालक तथा सहचालकलाई स्थानीयसँग छलफल गरि मिलापत्र गरिसकेको अवस्थामा पनि केही आमा समूहका महिलाहरुसहितको टोलीले पून आई चौकीमा आक्रमण गरेको उनले बताए । प्रहरीलाई निकुञ्जले दिएको अनुमतिको बोधार्थ प्राप्त नभएकोले आफूहरुले जेसीबी चालकहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

‘प्रहरीले ज्यादती गर्यो’–स्थानीय
प्रहरी चौकीका ईन्चार्ज बानियाँले घटनाका बारेमा सम्पूर्ण जानकारी दिएता पनि स्थानीयले भने प्रहरीले ज्यादती गरेपछि आफुहरु जाईलागेको बताएका छन् । घटनाका सम्बन्धमा जानकारी दिँदै पाल्दमारका एक स्थानीयले गाउँपालिकाको ३ लाख बजेट प्राप्त भएपछि निकुञ्जको पत्रको आधारमा आफुहरुले नदीजन्य पदार्थको उत्खनन् गरि ग्रेबल गर्ने कार्य गरेको बताए । सो अवस्थामा केहीलाई प्रहरीले पक्राउ गरि लगेर मिलापत्र गरि छोडेको भए पनि ती जेसीबी चालक र सहचालकलाई प्रहरीले हातपात गरेको भन्दै गाउँको स्थानीय आमा समूहको टोलीले प्रहरी चौकीमा हातपात गरेको उनले स्विकारे । तर प्रहरीले नै पहिले गल्ती गरेका कारण घटना घटेको उनले बताए ।

आफुसहितको केही बुद्धिजिवीहरुको टोलीले प्रहरीमाथि धावा बोल्नुहुँदैन भन्दै आमा समूहका दिदीबहिनीहरुलाई फर्काएर ल्याएको बताउने ती स्थानीयले घटना लगभग साम्य भइसकेको अवस्थामा प्रहरी पूनः पाल्दमारका घर–घरमा आई लात्तीले हान्दै ३ जनालाई लछारपछार गरेर फक्राउ गरेर लगेको बताए ।

आक्रोशित भिडले प्रहरी चौकीमा हातपात गर्न पुग्नु गल्ती भए पनि प्रहरीले पूनः फर्केर आई ज्यादती गर्नुले प्रहरीको पनि गल्ति भएको स्थानीयहरु बताउँछन् । प्रहरीले स्थानीय महिलाहरुलाई हातपात गर्नुका साथै घरघरमा लात्ताले हान्दै आतंक सिर्जना गरेको उनीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*