ट्रेड युनियन प्रदेश नम्वर २ का नवनिर्वाचित पदाधिकारीलाई आज प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराईयो
पर्सा ५ जेठ । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं. २ का नवनिर्वाचित पदाधिकारीलाई आज वीरगन्जमा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको छ ।
हालै सम्पन्न भएको प्रदेश अधिवेशनबाट लक्ष्मणप्रसाद कुर्मीको अध्यक्षतामा सर्वसम्मत निर्वाचित भएका ३३ जना पदाधिकारी तथा सदस्यलाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा निर्वाचन अधिकृत रामाशिसप्रसाद यादवले पद तथा गोपनियताको शपथ दिलाई पदभार ग्रहण गराएका हुन् ।
सो अवसरमा उपसभापति निधिले दुइतिहाईको दम्भ देखाउनुभन्दा संघीय प्रणालीलाई बलियो बनाउन केन्द्र सरकारलार्ई सुभाव दिए ।
उनले छ वटा प्रदेश, स्थानीय तहदेखि केन्द्रमा समेत बहुमत रहेको दम्भ देखाउन छोडी मन्त्रीबाहेक कुनै पूर्वधारण नरहेको संघहरुलाई संगठन र संरचनाको उपकरण दिई बलियो बनाउने तर्फ सोच्न सरकारलाई आग्रह गरे ।
नेता निधिले मुलुकमा अहिले सबै दल लोकतान्त्रिक हुनुलाई नेपाली राजनीतिको सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दहाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रदेश नं.२ का विधायक ओमप्रकाश शर्मा, शंकर चौधरीलगायत वक्ताले मजदुरको जीवनस्तरमा सुधार नभएसम्म मुलुक समृद्ध हुनै नसकिने बताए ।
