यी हुन विद्यार्थीलाई कुट्दै पिसाव खुवाउने प्रअ, भन्छन्, मैले त्यसो गरेको होइन

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार १३:०४

रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ ।

पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।

प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको बताएका छन् । उनका अनुसार जेठ १ गते वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो । त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमाने पछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताए ।

‘मैले जेष्ठ १ गते कक्षा ७ मा अध्ययनरत तीनजना विद्यार्थी मिलेर आफ्नै साथीलाई मिनरल वाटरको बोतलमा थुक र पिसाब मिसाएर खुवाएको विद्यालय प्रशासनमा जानकारी आएपछि पानी वा पिसाब केहो छुट्याउन त्यहि बोतलमा भएको पानी पिउन दिएको हुँ ।’ उनले भने -‘बोतलको पानीमा थुक्ने र पिसाब फेर्ने व्यक्तिले खाएपनि सँगै हिडेका अर्को एक विद्यार्थीले पिउन नमानेपछि कारबाही गर्छु अब,पिसाब फेरेर खुवाएको हो कि होइन सत्य भनिस् भनेँ केही गर्दिन भनेपछि मात्र पिसाब मिसाएको कुरा दुइ विद्यार्थीले स्वीकारे । त्यसपछि उनीहरुलाइ सामान्य कुटपिट सजाय दिएको हो ।’

कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताए । उनले कक्षा ९ कि छात्रा ममिता तामाङलाई जेठ २ गते साथीसंग झगडा गरेको भन्दै कुटपिट गरेका छन् । प्रधानाध्यापक तिमिल्सिनाले ममिता गाजा खाएर विद्यालय आउने र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको बताए ।

प्रधानाध्यापकमाथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको थियो । यसैबीच तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाउनु जघन्य अपराध भएको बताएका छन् ।

विद्यार्थीलाइ पाइपले पिटेको र पिसाब खाएपछि बमिट गरेको उजुरी आएपछि हेर्दा प्रधानाध्यापक बस्ने डेक्समुनी पाइपसमेत भेटिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिए । प्रधानाध्यापक जस्तो जिम्मेवार व्यक्तिले गल्ती गर्ने विद्यार्थीलाई कारवाही गर्ने प्रक्रिया अन्य हुँदा हुदै यस्तो अपराधिक सजाय दिन नहुने उनको भनाइ छ ।

आवश्यक सोधपुछ र छलफलका लागी बोलाइएको बैठकमा प्रधानाध्यापक उपस्थित नभएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले सहायक प्रधानाध्यापकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेर तिमल्सिनालाई प्रधानाध्यापकको पदबाट हटाइएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*