एमाले र माओवादी पार्टी एकता बिहीबार

तु खबर संवाददाता
२०७५ जेष्ठ २, बुधबार १८:३९
फाइल तस्बिर

काठमाडौँ, २ जेठ । मदन भण्डारीको २५ औं स्मृति दिवस पारेर भोलि नै एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।

स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।

ओली र प्रचण्डको वान टु वान वार्ताले भोली १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् । आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् ।

एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ । भोलि ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको पनि वैठक आव्हान गरेको छ । माओवादीले पनि चार बजे पार्टी सचिवालयको बैठक बोलाएको छ । एकताकै विषयमा छलफल गर्न साझ वैठक वोलाएको माओवादीका एक नेताले बताए ।

प्रचण्डले बेला–बेला २०५१ सालमै आफुले पार्टी एकताका लागि मदन भण्डारीसँग कुराकानी गर्ने तयारी भैरहेका बेला भण्डारी दुर्घटनामा परेको बताउँदै आएका छन् । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*