गुटउपगुटको राजनीति अन्त्य हुनुपर्छ : कोइराला

तु खबर संवाददाता
२०७५ जेष्ठ २, बुधबार १६:२३

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा थाहा नगरपालिका दामनमा आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताए । उनले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने दाबी गरे ।

पछिल्लो तीन तहको निर्वाचनमा कांग्रेस हारको प्रमुख कारण गुट र निकटताका आधारमा टिकट वितरण भएको बताउँदै यस्ता प्राविधिक त्रुटि सच्याउनु आवश्यक रहेको उनको भनाईछ । बाम एकताबाट कांग्रेसलाई कुनै असर नगर्ने भन्दै पार्टी भित्रको समस्या अन्त्य नै अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए । उनले आफु पार्टीमा रहेको गुट उपगुट अन्त्यको प्रयासमा अन्तिमसम्म लडिरहने बताए । आगामी अधिवेशनबाट पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने नेतृत्व चयनका लागि कार्यकर्तालाई उनको सुझाव छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले चुनावी अभियानमा पार्टीले हारे पनि राजनीति र विचारका दृष्टिकोणले जितेको बताए । उनले प्रधानमन्त्रीको सपथग्रहणदेखि नै वर्तमान सरकार संविधान मिच्ने काममा उद्धत रहेको भन्दै यो अधिनायकवाद र सर्वसत्तावादको शुरूवात भएको उनको भनाई छ । कांग्रेस लोकतान्त्रिक पद्धतिको रक्षाका लागि अधिनायकवाद र सर्वसत्तावादको विरूद्ध लड्ने उनले बताए । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, जिल्ला पार्टी प्रवक्ता प्रवक्ता प्रदीप कोईराला लगायतले मन्तव्य गरेका थिए ।

कार्यक्रममा जिल्ला कार्यसमिति, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष उम्मेदवार, नगर सभापति, वडा अध्यक्ष, भातृ संगठनका प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रम केन्द्रीय सदस्य लेखक र सामाजिक अभियन्ता रामजी अधिकारीले प्रशिक्षण दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*