फोहरमुक्त पिंडी निर्माण अभियान
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकाले फोहरमुक्त पिंडी निर्माण गर्ने अभियान थालनी गरेका छन् । विद्यालय क्षेत्रमा सोमबार कुहिने र नकुहिने फोहर संकलन गरेका छन् । नो लिटर जेनेरेशन भन्दै अन्तर्राट्रिय समुदायमा मनाईने दिवस (मे १६) को पूर्बसन्ध्यामा विद्यालयमा फोहर संकलन गरिएको हो ।
माईती नेपाल रोकथाम गृह हेटौंडाले समन्वयमा गरेको फोहरमुक्त पिंडी कार्यक्रममा संकलन भएको फोहर जोखिएको थियो । कुहिने फोहर १० केजी र नकुहिने फोहर ९ केजी संकलन भएको माईती नेपालकी कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् । फोहर संकलनको विवरण केन्द्रीय कार्यालयमा पठाईने कार्यक्रम संयोजक लामाले जानकारी दिइन् ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको कार्यक्रममा बालबालिकालाई फोहर संकलन गर्ने भन्दा पनि उत्पादनमै व्यवस्थापन गर्ने बिषयमा जानकारी गराइएको थियो । यसैबीच माईती नेपालले पशुपतिनाथ माविका बालबालिकाको लागि एक थान ड्रमर प्रदान गरेको छ । कार्यक्रम संयोजक लामाले विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यलाई ड्रम हस्तान्तरण गरेकी थिइन् ।
