हेटौँडा जर्नालिजम अवार्ड दुबाईमा, ९ विधामा अवार्ड वितरण हुने
हेटौँडा, ३० बैशाख । मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवाईमा हुने भएको छ । न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आईतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए । उनका अुनसार मकवानपुरबाट उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ ।
वि.सं. २०७४ सालभित्रको कामका आधारमा अवार्ड मूल्यांकनका लागि ३ सदस्य निर्णायक मण्डल रहने जनाईएको छ । मकवानपुरमा पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई उत्प्रेरणा जगाउन अवार्डको आयोजना गरिएको कार्यक्रम संयोजक सुशान्त श्रेष्ठले बताए ।
कार्यक्रमका लागि ३ नम्बर प्रदेश युएईको तर्फबाट स्थानीय आयोजकको रुपमा समिम खान, भीम अधिकारी र मनोज गोर्खालीको समन्वय रहने र नेपाल पत्रकार महासंघ युएई र एनआरएन युएईले सहयोग गर्ने कार्यक्रम निर्देशक गौतमले बताए । पत्रकार सम्मेलनमा आयोजक समितिका सल्लाहकार आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाई, पूर्व अध्यक्ष राममणी दाहाल, पूर्व उपाध्यक्ष गिरिजा अधिकारी लगायतको सहभागिता रहेको थियो ।
कला तथा पत्रकारिताको क्षेत्रमा विगत केहि वर्षदेखि अनवरत रुपमा क्रियाशील सिधाखबर डटकमले पत्रकारिता क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउँदै आएका व्यक्तित्वहरुको हौसला अभिवृद्धिको अभिप्राय राखी वृहतस्तरको हेटौँडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको बताईएको छ ।
पत्रकारितामा सम्मानित व्यक्तित्वहरुले समेत नविनताको अनुभूति गरुन् र भावि पुस्तालाई समेत प्रेरणा होस भन्ने अभिप्रायले सम्मान तथा अवार्ड कार्यक्रम गर्ने लक्ष्य राखिएको बताईएको छ ।
