चर्चित हुँदै कोगटेको पौडी पोखरी
भिमफेदी, ३० बैशाख । मकवानपुरको भिमफेदी गाउँपालिकाको कोगटे र इपाको बिच दोभानमा रहेको निर्माणाधिन प्राकृतिक पौडी पोखरी चर्चित भएको छ । यस अघि नै स्थानीयहरुले पौडीका लागि प्रयोग गर्दैै आइरहेको पोखरीमा अहिले पौडी खेल्नका लागि आन्तरकि पर्यटकहरु समेत आउने गरेको स्थानीय सुरेन्द्रराज थिकेले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ७ कोगटे र वडा नम्बर ८ इपाको बीच दोभानमा विशेष गरी नयाँ पुस्ताका युवाहरुको लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हो । किर्तिपुर फर्पिङबाट करिब २५ किलोमिटर तथा भीमफेदी बजारबाट १६ किलो मिटर टाढा रहेको उक्त पौडी पोखरीमा हरेक शनिबार काठमाण्डौ ,हेटौँडा तथा इन्द्रसरोबर गाउँपालिका ,मकवानपुरगढी गाउँपालिकासहित नजिककाक अन्य स्थानहरुबाट समेत पिकनिक तथा पौडी खेल्नका लागि मानिसहरुको भिड लाग्ने गरेको छ ।

कोगटे पौडी पोखरी
भीमफेदी गाउंपालिकाको विकास योजना अनुसार १० लाख रुपैयाँको लागयतमा निर्माण थालनी गरिएको यस प्राकृतिक पौडी पोखरी आर्थिक वर्ष २०७३–०७४ मा निर्माण भएको हो । पोखरीको प्राकृतिक स्वरुपलाई परिवर्तन नगरी पौडी पोखरी निर्माण र थप व्यवस्थित गरिएको ८ नम्बर वडा अध्यक्ष जगतमान घिसिङले बताए । पोखरी निर्माणस्थलमा अहिले ८ नम्बर वडा कार्यालयको संरक्षणमा दैनिक २ जना कर्मचारी खटाइएको छ । पोखरी खण्ड–खण्ड गरी हाल चार वटा पोखरीका रुपमा रहेको छ । ५ रोपनी क्षेत्रफल ओगटेको पोखरीलाई हरियाली जंगललाई समेत समेटेर पिकनिक स्थल तथा मनोरम बाटिका बनाउने योजना रहेको वडा अध्यक्ष घिसिङले बताए ।

बैशाख २९ गतदेखि व्यवस्थित तवरले संचालनमा आएको पोखरीमा एक पटक पौडी खेल्न ५० रुपैयाँ सहयोग शुल्क लिने व्यवस्था मिलाइएको छ । पोखरीमा स्नान गर्दा स्याम्पु तथा साबुन प्रयोग गर्न निषेध गरिएको छ । साबुन प्रयोग गर्नका लागि अलग्गै स्थान घरको समेत व्यवस्था गरिएको छ ।

कोगटे पौडी पोखरी
सेवा सुरुवात गरिएको पहिलो दिनमै आन्तरिक पर्यटकबाट १७ हजार रुपैयाँ संकलन गरिएको पोखरी निर्माण समितिका अध्यक्ष मणित लामाले जानकारी दिएका छन् । पोखरीलाई थप व्यवस्थापन सहित प्रचार प्रसार गरेर कोगटेको विकासका लागि सहयोग संकलन गर्न सकिने अवस्था देखिएको छ ।

कोगटे पौडी पोखरी
