ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएको भन्दै विप्लवले मुख खोले ! भोली नेपाल बन्द (विज्ञप्तिसहित)

तु खबर संवाददाता
२०७५ बैशाख २९, शनिबार २०:१६

काठमाडौं, २९ बैसाख । प्रधानमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ ।

शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् ।

ओली-प्रचण्ड दलाल संसदीय व्यवस्थाका पहरेदार बनेको भन्दै महासचिव विप्लवले उनीहरु आफैले बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई समेत कुल्चिएर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि गम्भीर आघात पुग्ने काम गरिरहेका बताएका छन् ।

महासचिव विप्लवद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ- ‘केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’


हेर्नुहोस् विज्ञप्ति

हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ ।

यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ ।

यसैको पछिल्लो ृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।

आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ । मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।

केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।

विप्लव
मिति : २०७५ वैशाख २९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*