नेपालले चिनलाई गैँडा उपहार दिने

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार २०:५३
Pic : The Himalayan Times

चितवन २७ बैसाख । नेपालले चीनलाई दुई आर्थिक वर्ष पारेर चार गैँडा उपहार दिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा तीन गैँडा नियन्त्रणमा लिएर पिट बुमा ९खाल्डो० मा राखिएको छ । अर्को एक गैँडा गत भदौमा बाढीले बगाएपछि उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखेर संरक्षण गरिँदै आएको छ ।

यी चार गैँडा चीन सरकारलाई उपहार दिन लागिएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ९साइटिस० का कारण एकै आवमा दुई जोडी गैँडा पठाउन नमिल्ने भएकाले दुई आव पारेर गैँडा उपहार दिन लागिएको हो ।

अर्यालका अनुसार महासन्धिमा एक आवमा एक जोडी वन्यजन्तु मात्रै उपहार दिन पाइने उल्लेख छ जसका कारण असारभित्र एक जोडी गैँडा चीन पठाउनैपर्ने हुन्छ भने साउन लागेपछि अर्को जोडी पठाउने तयारी गरिएको छ । लामो समय पाल्दा खर्च निकै हुने भएकाले पनि असार अन्तिम र साउन पहिलो साता गरेर गैँडा पठाउन लागिएको हो ।

एउटै गैँडालाई दैनिक आठ जनाले पालो मिलाएर रेखदेख गरिरहेका छन् भने घाँस काट्ने, आहार दिने अन्य कर्मचारी परिचालन गरिएको छ । त्यस्तै सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।

निकुञ्जका चिकित्सक डा कमल गैरेका अनुसार गैँडालाई घाँस, दूध, भिटामिन, खनिज, फलफूललगायत खानेकुरा खुवाइँदै आएको छ । ती गैँडाको स्वास्थ्यवस्था राम्रो देखिएको छ । यद्यपि परीक्षणका लागि वरिपरि जान नसकिएको गैरेले बताए ।

तीन गैँडालाई पिट बुमामा राखिएको छ भने अर्को एक गैँडालाई पनि पिट बुमामा राख्नका लागि ठाउँ बनाइँदैछ । केही दिनमा हाल खुला छाडिएको गैँडालाई पनि पिट बुमामा राखिने सूचना अधिकारी अर्यालले बताए ।

करीब एक महिना पिट बुमामा राखिएपछि गैँडालाई बुमा ९खुला खोर० मा राखिनेछ । ती गैँडालाई निकुञ्जको पश्चिमी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । चीनलाई उपहार दिइने गैंडा दुई भाले र दुई पोथी छन् ।

विसं २०७३ असारमा प्रधानमन्त्रित्व कालमा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । त्यसपछि नेपाली विज्ञको टोली गैँडा चीन लगेपछि राखिने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*