प्रदेश समितिले पत्रकार र साना लगानीका मिडिया हाउसको प्रवर्दनमा काम गरोस् : गिरिजा अधिकारी
हेटौँडा, २७ बैशाख । नेपाल पत्रकार महासंघको बैशाख २२ गते सम्पन्न प्रदेश निर्वाचनमा अध्यक्षमा पराजित गिरिजा अधिकारीले निर्वाचन र मतदान प्रकृयामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । मकवानपुर, सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकबाट विजयी भएका र अन्य जिल्लाबाट सम्मानजनक मत पाएका अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै प्रताप विष्ट नेतृत्वको पत्रकार महासंघ प्रदेश समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
निर्वाचनका सन्दर्भमा १६ बुँदे योजना सार्वजनिक गरी श्रमजीविको हीत तथा साना र मझौला मिडिया हाउसको प्रवद्र्धनमा काम गर्ने आफ्नो योजना असफल भएको भन्दै नयाँ कार्यसमितिले ती योजनाहरुलाई ग्रहण गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । तीन राजनीतिक दलसँग आवद्ध पत्रकारहरुका संगठनको दबाबका बीच पनि आफूलाई मतदान गरी चार जिल्लामा विजयी गराई जीतको नजिक पुर्याएकोमा उनले मतदाताहरुलाई विशेष धन्यवाद तथा आभार पनि ब्यक्त गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिले श्रमजीवि पत्रकार तथा मिडिया हाउसको प्रवद्र्धनमा काम गरेमा आफ्नो तर्फबाट पूराका पूरा सहयोग रहने पनि उनले स्पष्ट पारेका छन् ।
