३३ किलो सुन काण्ड बारे बोले मकवानपुरका पूर्व एसपी विकाशराज खनाल, यस्तो छ उनको बयान

तु खबर संवाददाता
२०७५ बैशाख २३, आईतवार २१:५३

काठमाडौं, २३ बैशाख/ मिति २०७५/०१/०९ गते म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेको समयमा सोहिदिन बेलुका प्रहरी प्रधान कार्यालयको पत्र मार्फत म नेपाल सरकार गृहमन्त्रालय बिशेष अनुसन्धान टोली समक्ष उपस्थित हुनुपर्ने जानकारी प्राप्त गरी म मिति २०७५/०१/१० गते बेलुका काठमाडौं पुगेर मिति २०७५/०१/११ गते बिहान १०ः३० बजेको समयमा गृह मन्त्रालय पुगि बिशेष अनुसन्धान टोलीका सदस्यहरुसंग भेट भयो ।

सो समयमा सहसचिव ईश्वरराज पौडेल सो स्थानमा नरहेका कारण सो स्थानमा रहेका अन्य सदस्यहरुले मलाई सोहि स्थानमा बस्दै गर्नुहोला भनी भनेको हुँदा म सोही स्थानमा बसे । दिनको अन्दाजी ३ बजेको समयमा सो स्थानमा सहसचिव ईश्वरराज पौडेल आएपश्चात् मलाई घट्नाको पृष्ठभूमिसमेत जानकारी गराउनुभयो । सो पश्चात उहाँहरुले करिब ४५ मिनेटसम्म सनम शाक्यको हत्या, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने गरेको सुनको तस्करी, मिति २०७४/१०/०९ गते बिमानस्थलबाट तस्करी भई आएको सुन काठमाडौंको अनामनगरबाट लुटिएको घट्नालगायतका बारेमा मलाई सोधपुछ गर्नुभयो । सो सम्बन्धमा मलाई जानकारी भएसम्मको कुरा मैले बिशेष अनुसन्धान टोली समक्ष बताएँ, जसको भिडियो रेकर्डसमेत सो टिमले राखेको हुनुपर्दछ ।

सो पश्चात् बिशेष अनुसन्धान टोलीका सरहरु बाहिर जानुभयो भने, म सोही कोठामा लगभग ३० मिनेट जति बसे र पुनः अर्को कोठामा लगभग २ घण्टा जति बसे । सो दिन बेलुका करिब ८ बजेको समयमा बिशेष अनुसन्धान टोलीले मलाई सशस्त्र प्रहरी गण नं. १ नक्शालमा राख्न पठाएर पुनः भोलिपल्ट मिति २०७५/०१/१२ गते गृह मन्त्रालयमा लगी पक्राउ पुर्जी दिएर सवारी साधनमार्फत सोहि दिन बेलुका १०ः३० बजेको समयमा मलाई जिल्ला प्रहरी कार्यालय मोरङमा दाखिला गराईएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको बाहिरी सुरक्षाको जिम्मेवारी नेपाल आर्मीको रहेको र आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको रहेको हुनाले म सो कार्यालयमा कार्यरत रहेको समयमा बिभागिय नीति निर्देशन र कार्यालय प्रमुखको निर्देशन बमोजिम चुस्त/दुरुस्तरुपमा आफूले प्राप्त गरेको जिम्मेवारी निर्वाह गर्ने गरेको थिएँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मेरो जिम्मेवारी आन्तरीक सुरक्षा व्यवस्थाको अनुगमन, प्रहरी सुरक्षाकर्मीहरुलाई रेखदेख, अनुगमन तथा निर्देशन, VIP/VVIP को सुरक्षा व्यवस्थापन तथा समन्वय, अनाधिकृत व्यक्ती तथा सवारी साधनको प्रवेशमा रोक लगाउने, अन्य सरोकारवालहरुसंग समन्वय गर्नेलगायत रहेको थियो ।

बिमानस्थलबाट सुन, बिदेशी रकम, बिधुतीय सामाग्रीहरुको तस्करी हुने गरेको कुरा हामीहरुले बिभिन्न संचारमाध्यमबाट समेत जानकारी प्राप्त गरेको हुनाले म लगायतले सुरक्षा व्यवस्था कडा पारेका थियौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित भन्सार कार्यालयको भन्सार चेकजाँच गर्ने स्थानबाट भन्सार नतिरी बाहिर गएको सामानहरु मात्र प्रहरीले पक्राउ गर्न मिल्ने हुनाले म सो स्थानमा कार्यरत रहेको समयमा भन्सार छली हुने गरेका चोरी तस्करीका कार्यहरुलाई निरुत्साहित गरि सुन, टि.भी., बिद्युतीय सामाग्रीहरुसमेत पक्राउ गर्नुका साथै बिमानस्थलबाट अन्य देशहरुमा तस्करी हुने बिदेशी मुद्रा,लागूऔषधलगायतका सामाग्रीहरु पक्राउ गरी सम्बन्धित कार्यालयहरुमा आवश्यक कारर्बाहीको लागि पठाउने गरेको थिएँ । सोको रेकर्डसमेत बिमानस्थललगायत सम्बन्धित कार्यालयमा सुरक्षित हुनुपर्दछ ।

मिति २०७४/११/१८ गते मोरङ जिल्लाको उर्लाबारीमा एकजना मानिसको हत्या भएको र मिति २०७४/११/१९ गते मोरङ जिल्लाको बिराटनगरमा लाश फेला परेको र केही मानिसहरुसमेत पक्राउ परेको कुरा मैले पत्रपत्रिकामार्फत् लाश फेला परेको २/३ दिन पछाडि मलाई जानकारी प्राप्त भएको हो । मिति २०७४/१०/०९ गते बिमानस्थलबाट तस्करी भई काठमाडौंबाट सोहीदिन लुटिएको भनिएको साँढे ३३ के.जी.सुनको बिषयमासमेत मलाई केहिपनि जानकारी छैन ।

सनम शाक्यको मृत्यु सम्बन्धमा मलाई कुनै जानकारी छैन । के कसरी मृत्यु भएको हो ? सो समेत घट्नाको २/३ दिन पछि पत्रपत्रिकाबाट मात्र थाहा पाएको हो र मैले आजसम्म कुनैपनि व्यक्तिसंग मिलि अवैध सुन तस्करी गरेको छैन । म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड कार्यालय गौचरमा डि.एस.पी.दर्जामा वि.सं.२०६५ साल मंसिरदेखि वि.सं.२०६६ सालको मंसिर महिनासम्म कार्यरत रहेको समयमा एस.एस.पी. गणेशराज राई, डि.आई.जी. रमेशशेखर बज्राचार्य, एस.पी. गोविन्दप्रसाद निरौला, डि.एस.पी. प्रकाश चन्द, डि.एस.पी. गणेश ऐर, डि.एस.पी. पोशराज पोखरेललगायत कार्यरत रहनुभएको थियो ।

यसैगरी वि.सं.२०७१ सालको चैत्र महिनादेखि वि.सं.२०७२ सालको पुष महिनासम्म म बिमानस्थलमा एस.पी. दर्जामा कार्यरत रहेको समयमा डि.आई.जी. बिजयलाल कायस्थ, एस.एस.पी. भुपाल भण्डारी र भुपाल सर सरुवा भएर गएपछि एस.एस.पी. श्यामबहादुर खत्री, डि.एस.पी. संजयबहादुर राउत, डि.एस.पी. मित्र बन्धु शर्मा, डि.एस.पी. हिरा पाण्डे, डि.एस.पी. डम्बर बि.क., डि.एस.पी. बिनोद घिमिरे, ईन्स्पेक्टर सुकदेव खनाललगायतका सिनियर प्रहरी कर्मचारीहरु कार्यरत रहनुभएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी विकाशराज खनालको वयानमा उल्लेख छ ।

(मोरंग जिल्ला अदालत विराटनगरमा, सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा १८ (१) वमोजिम प्रस्तुत गरिएको अभियोगपत्रबाट)

साभारः रातो पाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*