निजी क्लिनिकमा काम गर्ने डाक्टर विरुद्ध गर्जिए मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७५ बैशाख २३, आईतवार २१:४१
file photo

हेटौँडा, २३ बैशाख । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालको सेवा सुविधा लिएर निजिमा काम गर्ने डाक्टरविरुद्ध कडा कदम चाल्न सक्ने तर्फ संकेत गरेका छन् । उनले सरकारी तलब खाएर निजीमा काम गर्ने प्रवृत्ति अन्त्य हुनु जरुरी रहेको बताउँदै यस्तो प्रवृत्ति अन्त्य नभएसम्म स्वास्थ्य सेवामा सुधार नहुने बताए ।

उनले यस्तो गतिविधि गर्ने स्वास्थ्यकर्मीले कसरी सुशासनको कुरा गर्ने भनेर प्रश्न समेत गरेका छन् । ३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स्थानीय तहमा स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय छलफलमा बोल्दै मूख्यमन्त्री पौडेलले अहिलेले कानून अभावले क्षेत्राधिकार स्पष्ट नहुँदा स्वास्थ्य क्षेत्रको समस्या कसले समाधान गर्ने भन्ने निक्र्यौल नभएको भन्दै कानून बनेपछि यस क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति र आवश्यक पूर्वाधारको अभावमा जनतालाई न्यूनतम सेवा दिन नसकिएको भन्दै यसबारे गम्भिर ढंगले सोच्नु जरुरी रहेको बताए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले स्वास्थ्य क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले तथ्यांक प्रस्तुत गर्दै ३ नम्बर प्रदेशको ११ सय २२ वडामध्ये ९ सय ९६ स्थानमा मात्रै स्वास्थ्य संस्था रहेको जानकारी दिए भने ६८ स्थानमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा केन्द्र रहेको बताए ।

कार्यक्रममा डाक्टर अर्जुन सापकोटाले स्वास्थ्य क्षेत्र व्यवस्थापन तथा सुशासनसम्बन्धी प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*