पत्रकार महासंघ प्रदेश निर्वाचन : मकवानपुरमा १०० मत खस्यो, मतदान जारी
हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को निर्वाचन आज भइरहेको छ । ४ बजेसम्म मतदान समय तोकिए पनि अधिकांश जिल्लामा मतदान अन्तिम चरणमा छ । प्रदेश नम्बर ३ को मकवानपुरमा चुनावका लागि पत्रकार महासंघको भवनमा मतदान भइरहेको छ । मकवानपुरबाट ११८ जना मध्ये यो समाचार तयार पार्दासम्म १०० भन्दा बढी मत खसिसकेको छ ।
१० जिल्लाको निर्वाचनमा कुल १२८४ मतदाता रहेका छन् । कुल १२८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २८० महिला पत्रकार रहेको जनाइएको छ । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा रहेका छन् । चितवनबाट २४० जना पत्रकारले मतदान गर्न पाउने बताइएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नं ३ मा अध्यक्ष पदको लागि मात्र निर्वाचन भएको हो । अध्यक्ष बाहेकका सबै पदमा तीन संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । घोषणा हुन भने बाँकी छ । अध्यक्ष पदको लागि भने ३ संगठनका साझा उम्मेदवार प्रताप विष्ट र स्वतन्त्र उम्मेदवार गिरिजाप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।
