मुख्यमन्त्री पौडेलसहितको टोली प्रदेश ३ को राजधानी हेटौँडामा राख्न प्रधानमन्त्रीलाई गुहार माग्दै

तु खबर संवाददाता
२०७५ बैशाख २१, शुक्रबार २१:५३
तस्बिर–गुगल

हेटौँडा, २१ बैशाख । प्रदेश नम्बर ३ को राजधानी हेटौँडालाई नै कायम गर्न मुख्यमन्त्री डोरमिण पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहार मागेका छन् । शुक्रबार नेकपा एमालेको मकवानपुर जिल्ला कमिटीको मागपत्र बोकेर मुख्यमन्त्री पौडेलसहितको टोली प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् ।

काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै एमाले जिल्ला कमिटीले प्रदेश ३ को राजधानी हेटौँडाबाट सार्ने कुरा बहुदल र गणतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनको भावना विपरीत हुने दाबी गरेको छ । ‘३ नं प्रदेशको राजधानी अन्य ठाउँमा सार्ने कुराले बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएका आन्दोलनको भावनाको विरुद्धमा हुनेछ’ ज्ञापनपत्रमा भनिएको छ ‘जनभावना विपरीत हुने र परिवर्तनको आभास जनताले गर्न नसक्ने र नपाउने भएकाले पनि हेटौंडालाई ३ नम्बर प्रदेशको स्थायी राजधानी तोकिनु उपयुक्त हुनेछ ।’

हेटौंडा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको र हाल १९ वटा क्षेत्रीय कार्यालय, ३ वटा मुख्य कार्यालय रहेकाले राजधानीका लागि पूर्वाधार पर्याप्त हुने एमालेको जिकिर छ । विश्वका धेरै देशको राजधानी मध्यभागमा नभएको भन्दै हेटौंडा पनि प्रदेशको छेउमा पर्छ भन्नु युक्तिसंगत नहुने एमालेले बताएको छ । ‘विश्वको नक्शा पल्टाएर देशको राजधानी हेरेर मात्रै राजधानी बीचमा नभए पनि हुने रहेछ भन्ने यथार्थतालाई हृदयंगम गरी हेटौंडालाई प्रदेश ३ को स्थानीय राजधानी बनाउने निर्णय गर्नु उपयुक्त, हुने कुराप्रति गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ ज्ञापनपत्रमा भनिएको छ ।

काभ्रे भक्तपुर र नुवाकोटमा राजधानी बनाउन भनी प्रदेशसभामा प्रस्तावहरु पेश भएपछि राजधानी सर्ने आशंका बढेको भन्दै एमालेले नसार्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्र बुझाउने एमाले टोलीमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल, उपसचिव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतको टोली सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*