साढे ३३ किलो सुन काण्डमा नयाँ खुलासा, ६३ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ, १९ बैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको समितिले घटनामा संलग्न गोरे ग्याङका बारेमा नयाँ खुलासा गरेको छ । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।
उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई घटनाको मुख्य अभियुक्त तोकिएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी गरिएको छ । मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परिसकेका छन् । प्रतिवादी बनाइएका मध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् । मुद्दामा बिहीबारदेखि अभियुक्तहरुको बयान सुरु हुनेछ ।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनसँगै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर समेत गरेको छ । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।
