‘छक्का पञ्जा ३’ को छायाङ्कन मिति सर्यो
हेटौँडा, १८ बैशाख । चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेलका रुपमा निर्माण हुन लागेको ‘छक्का पञ्जा ३’ को सुटिङ डेट सरेको छ । यही बैशाख १७ गतेबाट छायाँकन सुरु गर्ने भनिएता पनि अब चलचित्रको छायाँकन बैशाख २८ गतेबाट सुरु हुने निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।
चलचित्रको स्क्रिप्ट चित्त नबुझेको भन्दै निर्माण युनिटले स्क्रिप्टलाई चुस्त बनाउन सुटिङ गर्ने समय सारेको हो । दीपाश्री निरौलाको निर्देशन रहने चलचित्रमा चर्चित नेपाली चलचित्र ‘ऐश्वर्य’ मा डेब्यू गरेर अभिनय र ग्ल्यामरका कारण चर्चा कमाएकी नायिका दिपिका प्रसाईलाई यस चलचित्रमा अनुबन्ध गरिएको छ । उनी यस चलचित्रमा अनुबन्धित भएदेखि नै उनको रोलका विषयमा समेत दर्शकलाई चासो छ ।
दिपिकासहित चलचित्रमा पुरानै कलाकारहरु दोहोरिने छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । साथै नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउने बताइएको छ ।
