काँग्रेस मकवानपुरलाई चुनावको बेला लाग्यो २० लाख ऋण
हेटौँडा, १७ बैशाख । नेपाली काँग्रेस मकवानपुरलाई ३ तहको चुनाव प्रचारप्रसारका क्रममा २० लाख रुपैया ऋण लागेको बताइएको छ । नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिकले आज हेटौँडामा भएको नेपाली काँग्रेसको जिल्ला सम्मेलनमा प्रतिबेदन प्रस्तुत गर्दै २० लाख रुपैयाँ ऋण लागेको बताएका हुन् ।
देशमा भएको तिन तहको निर्वाचनमा मकवानपुरमा प्रचारप्रसारको लागी ७० लाख खर्च भएकोमा ५० लाख भुक्तानी भएको र अझै २० लाख भुक्तानी हुन बाँकी रहेको उनले बताए । कोषाध्यक्ष बिकले आफनो कार्यकालमा १ करोड १६ हजार खर्च भएको समेत बताए । उनले पार्टी सभापती ईन्द्र बानियाले ४० लाख रुपैया र आफुले १० लाख रुपैयाँ पार्टीलाई ब्यक्तीगतरुपमा सहयोग गरेको बताउँदै बाँकी रकमहरु कांग्रेसका क्रियाशिल कार्यकर्ताहरुबाट उठाएको बताए ।
बिभिन्न संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता दिए पनि रकम उठ्न नसकेको बिकले दाबी गरे । अब काँग्रेसका क्रियाशिल सदस्यबाटै रकम उठाएर ऋण तिर्ने जोह गर्न लागेको कोषाध्यक्ष बिकले बताए ।
