गुणस्तरीय उत्पादन गर्नसके आयात प्रतिस्थापन गर्न सकिन्छ : मन्त्री यादव
चितवन १५ बैसाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वदेशमै गुणस्तरीय उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने बताउनुभएको छ ।
भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको पूर्ण स्वचालित प्रविधियुक्त कापी उद्योगको आज उद्घाटन गर्दै उनले समृद्ध नेपालका लागि उद्योगहरूको आवश्यकता रहेको बताए ।
उनले उद्योग व्यवसाय सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । कमिसनका कारण नेपालमा रहेका अधिकांश उद्योग बन्द हुने गरेको बताउंँदै उनले कमिशन र भ्रष्टाचारको अन्त्य गर्न आफू कटिबद्ध रहने उल्लेख गरे ।
उद्योगका निर्देशक सञ्जय चौधरीले ३० जना युवाहरूको संयुक्त लगानीमा उद्योग स्थापना भएको जानकारी दिँदै स्वदेशी बजारमा गुणस्तरीय कापी आपूर्तिमा उद्योग सहयोगी हुने बताए । पाँच कठ्ठा क्षेत्रफलमा स्थापित उद्योगमा करिब २५ करोड लगानी भइसकेको जनाइएको छ ।
रासस
