पत्रकार महासंघको प्रदेश निर्वाचन : आज हेटौँडामा उम्मेदवारी दर्ता, साधारण सदस्य सबैले मतदान गर्न पाउने
मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावको आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रको निर्णय अनुसार प्रदेश राजधानीमा चुनावका सम्पूर्ण गतिविधि हुने भएपछि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको हेटौँडामा रहेको कार्यालयमा यतिखेर चुनावी चहलपहल सुरु भएको छ ।
चुनावको कार्यतालिका अन्तर्गत बिहीबार नै अन्तिम नामावली समेत प्रकाशन भइसकेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले जानकारी दिएका छन् । साथै यस अघि नै जिल्ला शाखाको अधिवेशनमा मतदान गर्ने अधिकार पाएका सबै साधारण सदस्यहरुले यो चुनावमा मतदान गर्ने अधिकार पाउने भएका छन् ।
कार्य तालिका अनुसार आज नै उम्मेदवारी दर्ताको समय समेत तोकिएको छ । बिहान १० बजेपछि सुरु हुने उम्मेदवारी दर्तामा विभिन्न पार्टीबिच भएको सहमति अनुसार अध्यक्ष तथा अन्य पदमा उम्मेदवारी दर्ता हुने अपेक्षा गरिएको छ । जस अनुसार ३ नम्बर प्रदेशका लागि अध्यक्षमा प्रेस चौतारीका तर्फबाट प्रताप विष्ट, महासचिवमा प्रेस सेन्टरका तर्फबाट कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । त्यसका साथै अध्यक्षकै पदसहित अन्य पदमा समेत बागी तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने समेत सम्भावना छ ।
