सरकारको निर्णय विरुद्ध मकवानपुरमा आन्दोलन परिचालन कमिटि गठन

तु खबर संवाददाता
२०७५ बैशाख ६, बिहीबार १८:४३

मकवानपुर, ६ बैशाख । मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटि गठन गरेका छन् । नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौँडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेको हो ।

बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ । बैठकले अन्य संघका अध्यक्ष र महासचिव सचिवालय सदस्य र कार्यसमिति सदस्य रहने निर्णय गरेको छ । बैठकमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलीयम ढुवानी व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसन, मध्यमाञ्चल यातायात व्यवसायी संघ र नेपाल ई–रिक्सा व्यवसायी संघ, मनहरी लोकल ढुवानी व्यवसायी संघ रहेका छन् । शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापनत्र बुझाउने कार्यक्रम तय भएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।

यस्तै, नारायणी यातायात व्यवसायी संघले संस्थामा आवद्ध विभिन्न प्रकृतिका ७ हजार ८ सय २७ सवारीले बार्षिक रुपमा राज्यलाई विभिन्न शिर्षकमा बुझाउँदै आएको कर सार्वजनिक गरेको छ । बस, माईक्रो, सुमो र म्याजिकले २ करोड ३१ लाख १८ हजार ५ सय ८९ रुपैँया, ट्रक, टंयाङ्कर, ट्रिपर र कन्टेनरबाट ३६ करोड ९५ लाख ३४ हजार ८ सय ३६ रुपैंया गरी ३९ करोड २६ लाख ५३ हजार ४ सय २५ रुपैँया बार्षिक रुपमा कर तिर्दै आएको संघको दावि छ । संघले आव २०७२–०७३ मा घर भाडा, बैठक भत्ता करकट्टी, कर्मचारी तलब भत्ता करकट्टी,बार्षिक बचत आयकर बापत २३ लाख २८ हजार ७ सय ६२ र आव २०७३–०७४ मा ३६ लाख ५१ हजार २ सय ६७ रुपैँया आयकर बुझाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*