पदमपोखरी घरेडीडाँडामा बाटो स्तरीकरण हुँदै

–चन्द्र घलान
हेटौँडा, ५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घरेडीडाँ गोले टोलमा बाटो स्तरीकरण आरम्भ भएको छ । आज एक जेसिबी सहितको टोलीले बाटो स्तरीकरण थालेको वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए ।
बाटो निर्माण समितिका अध्यक्ष लालबहादुर थापा मगर र सचिव रामहरी पोखरेल सहितको टोली अहिले बाटो निर्माणमा लागिपरेका छन् । हेटौँडा उपमहानगरपालिकाको ३ लाख ५० हजार लागतमा बाटो स्तरीकरण कार्य सुरु भएको हो । सो स्थानमा पहिले सानो बाटो भएका कारण अहिले स्तरीकरणको कार्य भएको हो । उक्त सडकमा ग्राभेल पनि गरिने बताइएको छ । दुईतिर नालीसहितको ६ मिटरको बाटो खनिएको सचिव पोखरेलले जानकारी दिए ।
बाटो स्तरीकरणकै सिलसिलामा केही समयपछि हात्तिगौँडा रमेशचोकदेखि मन्त्रे टोलसम्मका बाटोमा समेत ग्राभेल गरिने वडाअध्यक्ष घलानले बताएका छन् । वडा नम्बर १२ का विभिन्न स्थानमा नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने, बाटो स्ल्याब गर्ने लगायतका कार्य धमाधम भईरहेको बताउँदै अध्यक्ष घलानले बाटो निर्माण कार्यमा बाटो निर्माण समिति तथा स्थानीय जनताहरुले प्रत्यक्ष सहयोग गरेको बताए ।
जनप्रतिनिधि चुनिएसँगै वडाअध्यक्ष घलानसहितको जुझारु टोलीले अहिलेसम्म पदमपोखरी बिचरोड, बेलडाँडा नजिकै पान्तले ओरालो, आग्राल टोल, हात्तिगौँडा गाडाखोल्चा ओरालो, सिक्रेनी ओरालो लगायतका विभिन्न भागमा बाटो स्ल्याब गर्ने कार्य सम्पन्न गरिसकेको छ । त्यस्तै विभिन्न स्थानहरुमा बाटोको नयाँ ट्रयाक खोल्ने तथा अस्थायी पुल निर्माण गर्ने कार्य समेत अगाडि बढाईसकेको छ ।