सहकारीको स्थापना दिवसमा पदमपोखरीमा पोषाक वितरण

हेटौँडा, ४ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १८ औं स्थापना दिवसको अवसरमा महेन्द्र माध्यामिक विद्यालयमा पोषाक वितरण गरेको छ । विद्यालयको नर्सरीमा भर्ना हुने सबै विद्यार्थीलाई विद्यालय पोषाक निःशुल्क दिने उदेश्यले विद्यालयलाई पोषाक वितरण गरिएको हो ।
कार्यक्रममा हेटौडा उपनगरपालिकाका उपमेयर मिना लामाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शोभित थिङ र प्रध्यानाध्यापक शंकर थिङलाई पोषाक हस्तान्तरण गरेका थिए । कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईवा, १२ नम्बर वडा अध्यक्ष ललित घलान, जिल्ला बचत संघका कोषाध्यक्ष विजय बस्नेत, संस्थापक अध्यक्ष सुनमाया थिङ, निवर्तमान अध्यक्ष लक्ष्मी थिङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकी व्यवस्थापक फुलमाया मोक्तानले चैत मसान्त सम्मको कारोबारको बारेमा जानकारी दिएकी थिईन् ।
संस्थाको कुल कारोबार २६ करोड, २ लाख, २६ हजार ४५९ रहेको छ । २०९ वटा समूहमा ३१३६ शेयर सदस्य रहेको संस्थामा शेयर पुँजी २ करोड,७९ लाख, ४७ हजार ७०० रहेको छ । संस्थाको बचत रकम १९ करोड, ५२ लाख, ७४ हजार, ४८४ छ भने २१ करोड, ५१ लाख, ४३ हजार ९५५ ऋण लगानी गरेको छ । सहकारीले ९७ लाख ३२ हजार, ७६ रकम कुल नाफाको रुपमा रहेको छ भने जगेडा कोषमा ९५ लाख ६९ हजार, २१० रहेको छ । संस्थाले सरकारलाई यस आर्थिक वर्षमा १७ लाख रुपैया कर बुझाएको व्यवस्थापक मोक्तानले बताईन । कार्यक्रम संस्थाका अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको थियो ।