सुन व्यवसायीको हत्या गर्न साढे दश लाख सुपारी
काठमाडौँ, ०४ बैशाख । झापा बिर्तामोडका एक सुन व्यवसायीको हत्या गर्न साढे दश लाखको सुपारी दिइएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बिर्तामोडमा सुन व्यवसाय गर्दै आएका साजन मुखियाको हत्या गर्न हत्याका योजनाकार स्थानीय ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देवले दुई जनालाई १० लाख ५० हजार रुपैयाँ सुपारी दिएको खुलेको हो ।
शुक्रबार भारतबाट पक्राउ परेका बितौमोड–३ का २२ वर्षीय राहुल भनिने राजेश शाहलाई देवले १० लाख रुपैयाँ दिएका थिए । शाह घटनापछि सुनसरीको भन्टाबारी हुँदै भारततिर छिरेका थिए ।
घटनामा प्रत्यक्ष रुपमा संलग्न १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई भने देवले रकम दिएका थिएनन् । रेडबुलमा हाइअल्कोहल र क्लोरोफम मिसाएर साजनलाई खुवाएर बेहोस बनाई हत्या गरिएको अनुसन्धानले देखाएको छ
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार साजन हत्याको मुख्य कारण ईष्र्या नै हो । साजनको दावा ज्वेलर्सको आम्दानी दिन प्रतिदिन बढ्दै थियो । त्यस अनुपातमा देवको बढेको थिएन । साजनको हत्यापछि उसको कारोबार आफूले आफ्नो हातमा आउने सोचाइले देवले हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
