‘हेटौँडा बजारमा बाटो बनाउन आवश्यक, ग्रामिण भेगमा विकास पहिलो प्राथमिकता’–मेयर महत
–चन्द्र घलान
मकवानपुर, २९ चैत । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडा उपमहानगरपालिकाका साविक ११ वडाहरुमा विकासका नाममा अब बाटोलाई सुधार गर्नु प्रमुख काम भएको बताएका छन् । त्यस्तै उनले नगरमा पछि जोडिएका बाँकी वडाहरुमा भौतिक विकासको पहिलो प्राथमिकता दिएर उपमहानगरपालिका अगाडि बढेको बताएका छन् ।
हेटौँडा १३ पदमपोखरीमा अवस्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक स्तर सुधारका निम्ती आयोजना गरिएको श्रीमद भागवत सप्ताह महायज्ञ तथा बुद्ध ज्ञान प्रवचन कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि महतले उपमहानगरमा पछि जोडिएका साविक ५ गाविसहरुमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विकासका पूर्वाधारहरु विकास गर्न जरुरी रहेको बताए । साथै ती वडाहरुलाई समेत साविकका ११ वडाहरुजस्तै विकसीत बनाउनु आफ्नो लागि ठूलो चुनौति भएको बताए । उनले वडा नम्बर १२ का अध्यक्ष ललित घलान र वडा नम्बर १३ का अध्यक्ष मनोज वाईबाको कामको प्रशंसा गर्दै वडाको विकासको लागि उनीहरु उपमहानगरपालिकामा दिनहुँ धाईरहेको बताउँदै भौतिक पूर्वाधार विकासमा लागि परिरहेको बताए । उनीहरुको कामका कारण आफु समेत प्रभावित भएको उनले बताए ।

तस्बिर–दिलबहादुर लामा
उनले भौतिक विकासका लागि उपमहानगरपालिकाका ग्रामिण भेगका सबै वडालाई प्राथमिकतामा राखेपनि तत्कालका लागि वडा नम्बर १२,१३ र १४ मा विकासका पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिएको बताए । साथै विकासलागि स्थानीयको प्रत्यक्ष सहभागीता हुने भन्दै उनले ईमान्दारिता र जनसहभागीता हुन अत्यावश्यक भएको बताए । अहिले सिक्रेनी जाने तथा वनस्पतीमा बनेको स्ल्याबको प्रसंग निकाल्दै उनले ती बाटो जस्तै वडाका सबै भागमा त्यो भन्दा पनि फराकिलो सडक विस्तारको योजनाका साथ आफुहरु अगाडि बढेको सुनाए । नगरको विकासको लागि सरकारले दिएको बजेटले मात्र नपुग्ने बताउँदै सरकारले एसिया ईन्फ्रा स्ट्रक्चर इन्भेष्टमेन्ट बैँक चीनसँग ६० अरब सहायता लिएको र सो मध्ये भौतिक विकासका लागि हेटौँडा उपमहानगरलाई डेढ अरब रुपैयाँ परेको भन्दै सबै नगरवासीलाई यो खुशीको कुरा भएको समेत सुनाए ।
हेटौँडा उपमहानगरपालिकाभित्रकै क्याम्पस भएकोले पदमपोखरी बहुमुखी क्याम्पसलाई विकास गर्नु नगरको दायित्व भएको भन्दै मेयर महतले क्याम्पसको अवस्थाको विशेष अध्ययन पश्चात क्याम्पसलाई विकास गर्न आफु पनि तयार भएको बताए । साथै अध्ययन पछि नै अन्य योजनाहरु ऋगाडि बढ्ने बताए ।

तस्बिर–दिलबहादुर लामा
चैत २१ गतेबाट भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज समापन भएको छ । सप्ताह मुल आयोजक समितिका अध्यक्ष राजेन्द्र मैनालीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर महतको प्रमुख आतिथ्यतामा आज औपचारिक कार्यक्रम गरि महायज्ञको समापन गरिएको हो । सप्ताहमा ३६ लाख ६१ हजार ९ सय ५१ रुपैयाँभन्दा बढी सहयोग जुटेको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिएकी छिन् ।
