सरकारले गल्ती गर्ने कसैलाई छाड्दैन : खनाल

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १९:४९
file-photo

काठमाडौँ / पूर्वप्रधानमन्‍‍त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।

बिहीबार मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको ३९ औँ शिक्षक दिवस एवं सम्मान समारोहमा उनले भने, ‘सरकार सधैं देशको नोकरको रुपमा काम गर्छ । देश विकासमा सरकार दृढ संकल्प लिएर अगाडि बढेको छ । त्यसैले अब गल्ती गर्ने कर्मचारीदेखि मन्‍‍त्रीसम्म कसैले छुट पाउँदैनन् ।’

सरकारले आगामी पाँच वर्षमा हजारौँ मेगावाट बिजुली उत्पादन गर्दै उज्यालो नेपाल बनाउने अठोट लिएको बताउँदै उनले अब देशबाट गरिबी, बेरोजगारी, रोग र निरक्षरता उन्मूलन हुने आशा व्यक्त गरे।

वैशाख ९ गते हुने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता घोषणा भएपछि नेपाली कम्युनिष्ट पार्टीभित्रको टूटफूट र गुटबन्दीको अन्त्य हुने विश्वास पनि उनले प्रकट गरे । खनालले भने – ‘दुई पार्टीबीचको एकतालाई कुनै पनि ताकतले रोक्न सक्दैन । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई बोकेर एकीकृत पार्टी अगाडि बढ्ने छ ।’

खनालले प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा सेवा निवृत्त भएका तथा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बस्नेतले मिसन भक्तपुरको नारा लिएर आफू अगाडि बढेको बताए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*