पदमपोखरी कन्सर्टको टिकट शुल्कमा ५० प्रतिशत छुट, सुरक्षा व्यवस्था कडा

मकवानपुर, २७ चैत । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा हुन गइरहेको बृहत साँस्कृतिक कार्यक्रमलागि टिकटमा पचास प्रतिशत छुट दिने निर्णय भएको छ । यही चैत २८ गते अर्थात भोलि हुने कार्यक्रमको लागि सिमित टिकटमा पचास प्रतिशत छुट सहित रु. १५० मा विक्री भइरहेको आयोजक मध्येका सुरज थिङले जानकारी दिएका छन् ।
हेटौँडा बजारसहित, पदपोखरी, हात्तिगौँडा, भोर्ले, मनहरी गाउँपालिकाका विभिन्न वडा सहित रातोमाटे, हटिया कमाने र जिल्ला बाहिरका दर्शकहरु समेत सहभागी हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि कडा सुरक्षाको समेत प्रबन्ध गरिएको थिङले जानकारी दिएका छन् । ‘दर्शकहरुले सुरक्षाको बारेमा केही चिन्ता लिनुपर्ने अवस्था छैन, स्थानीय प्रहरीसँगै कडा सुरक्षा व्यवस्था समेत गरिएको छ’, थिङले भने, ‘सुरक्षा व्यवस्थाका बारेमा कुनै चिन्ता नलिन र सहयोगी भावनाले सहभागी भइदिनु हुन हामी आग्रह गर्दछौँ ।’
पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमलाई सफल बनाउनका लागि कार्यक्रमका संयोजक धिरेन लामा सहितको टोली अहिले भव्य तयारीमा जुटिरहेको आयोजकले जनाएको छ ।
करिब ६ देखि ७ लाखसम्मको खर्च हुने अनुमान गरिएको कार्यक्रममा उठेका सम्पूर्ण रकम खर्च कटाएर करिब ९० प्रतिशत सामाजिक कार्यमा लगाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा उठेको रकम महेन्द्र मावि पदमपोखरी र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन प्रयोग गरिने भएको छ । साथै अन्य विभिन्न सामजिक कार्यमा समेत रकम खर्च गरिने बताइएको छ । सामाजिक कार्यका लागि पदमपोखरीका युवाहरुले एकजुट भएर आयोजना गर्न लागेको कार्यक्रममा सबैलाई सहयोगका लागि समेत आग्रह गरिएको छ । केही युवाहरुले सहयोगका लागि टिकट विक्री समेत गरिरहेका छन् ।
कार्यक्रममा चर्चित डान्स ग्रुप कार्टुन क्रियुले धमाकेदार प्रस्तुति दिने भएका छन् । साथै चर्चित गायक सबिन राईसँगै अबिनाश घिसीङ, डिजे जे.के.ले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । कार्यक्रममा गायक अनराज तामाङ, धिरेन लामा, द रेड डेभिल्स्, द अन्डर साईड पदमपोखरी ब्यान्डको प्रस्तुती रहने कार्यक्रमका संयोजक लामाले जानकारी दिएका छन् । कार्यक्रमममा तामाङ पत्रकार संघ मकवानपुरका नयाँ कार्य समितिका सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई समेत सम्मान गरिने छ ।
चैत २८ गते दिउँसो १२ बजे देखि बेलुका ८ बजेसम्म पदमपोखरी पार्टी प्यालेसमा हुने कार्यक्रमलाई प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व गृह राज्यमन्त्री ईन्द्र बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।