हत्या गरी फरार भएका अभियुक्त पक्राउ
काठमाडौं, २५ चैत । गत चैत २१ गते बुधबार राति मादक पदार्थ सेवन गरि सामान्य विवादमा एक युवकको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तहरु उदयपुरगढी गाउँपालिका–७ घर भएका ४२ बर्षीय मोटे भन्ने सरोज श्रेष्ठ र सर्लाही हरीवन नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–९ गैरीगाउँ बस्ने २९ बर्षीय अमित भन्ने मिन बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं महानगरपालिका–९ पिगंलास्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले सामान्य विवादमा काठमाडौं महानगरपालिका–९ सिनामंगल स्थित भत्केको पुल मुनि बागमती करीडोर सडक किनारमा बस्दै आएका रामेछाप घर भएका ३५ बर्षीय ज्ञाने राईलाई ढुङ्गा प्रहार गरि हत्या गरि फरार भएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
