५ वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने मुख्यमन्त्री पौडेलको दाबी
–खेम बोलखे
भरतपुर, २३ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले अबको पाँच वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने बताएका छन् । चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले यस्तो बताएका हुन् । आत्मविश्वास र इच्छा शक्ति भएको खण्डमा जुनसुकै काम पनि गर्न सकिने बताउँदै उनले आफूहरुसँग त्यो दुबै कुरा भएकोले प्रदेश नम्बर ३ लाई समृद्ध प्रदेश बनाउने कुरामा सफल हुने कुरामा जोड दिए ।
प्रदेश सरकारलाई समृद्ध बनाउने अभियानमा लागेको बताउँदै मुख्य मन्त्री पौडेलले औद्योगिकीकरण बिना समृद्धी संभव नभएको बताए । औद्योगिक विकासका लागि उद्योगी व्यवसायीहरुसँग छलफल गरी प्रदेश सरकारले उपयुक्त नीति निर्माण गर्ने पनि उनले बताए ।
सो अवसरमा उनले कृषि, पर्यटन, शिक्षा, मेडिकल सबै क्षेत्रमा चितवनको संभावना रहेको उल्लेख गर्र्दै मकवानपुर र चितवन जिल्लालाई मिलाएर आर्थिक जोन निर्माण गर्ने कुरामा प्रदेश सरकारको सहयोग रहने कुरा बताए । औद्योगिक प्रदर्शनीले नयाँ उद्योग स्थापना र उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन सहयोग गर्ने कुरामा मुख्य मन्त्री पौडेलले जोड दिए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग मन्त्री अरुण नेपालले पर्यटन र पोल्ट्रीको राजधानी चितवनमा यस्तो औद्योगिक प्रदर्शनीले अझै आर्थिक गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । आर्थिक समृद्धीका लागि सबै जना एक ढिक्का भएर लाग्नु पर्ने कुरामा उनले जोड दिए । कार्यक्रम उद्घाटन समारोह चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मन्त्री कैलाश ढुंगल, प्रदेश सांसदहरु कञ्चन खनाल, गीता वाग्ले, बलराम पौडेल, पार्वती सिलवाल, मिलनबाबु श्रेष्ठ, रिना गुरुङ, विजय सुवेदी र घनश्याम दाहाल लगायतको आतिथ्य रहेको थियो ।
नेकपा एमाले चितवनका सहसचिव सूर्यबन्दना हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रतिनिधि द्रोण सिवाकोटी, नेपाल पोल्ट्र व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल उद्योग परिसंघ ३ नम्बर प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघका पूर्व अध्यक्ष बामदेव खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
दिगो आर्थिक विकास लागि औद्योगिक प्रबद्र्धन भन्ने मूल नारा सहित आयोजित पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा २ सय औद्योगिक प्रतिष्ठानका स्टल रहेका छन् । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहने आयोजकले जानकारी दिएको छ । प्रर्दशनीमा झण्डै १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको उद्योग संघ चितवनका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक भेषराज दवाडीले जानकारी दिए ।
